सिद्धार्थ र सानिमा बैंकले करिब १० अर्बकाे ऋणपत्र बिक्रीमा ल्याउँदै

-



     सफल आवाज    
     असार २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ असार । सिद्धार्थ बैंकले असार १० गतेदेखि १० वर्षे अवधिकाे ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे छ । साे ऋणपत्रकाे वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहनेगरी निष्काशन तथा बिक्रीमा ल्याउन लागिएकाे हाे ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरकाे ४ अर्बकाे ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको जनाएकाे छ । कुल ऋणपत्रबाट १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ । बाँकी रहने २ अर्ब ४० करोडकाे २४ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री हुनेछ । सामूहिक लगानी कोषका लागि ८० हजार कित्ता रहेकाे जनाइएकाे छ।

लगानीकर्ताले सो ऋणपत्र खरिद गर्नका लागि असार १४ गतेसम्ममा आवेदन पेश गर्न सक्नेछन् । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा असार २४ गतेसम्म आवेदन दिन पेश गर्न सकिने भएकाे छ । ऋणपत्र खरिदका लागि घटिमा २५ कित्ता र बढीमा १ लाख कित्तासम्म आवेदन दिन पाइने भएकाे छ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’

यस्तै सानिमा बैंकले असार १० गतेदेखि ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा बिक्रीमा ल्याउने साे ऋणपत्रकाे अवधि १० वर्षकाे लागि रहेकाे छ।

बैंकका अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ५ अर्ब रुपैयाँको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागिएकाे छ ।जसबाट २ अर्ब रुपैयाँको २० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ । बाँकी रहने ३ अर्ब रुपैयाँको ३० लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे छ। यसमा सामूहिक लगानी कोषबाट आवेदन पेश नभएकाे बैंकले जनाएकाे छ ।

लगानीकर्ताले ऋणपत्र खरिद गर्नका लागि असार १४ गतेसम्मकाे आवेदन दिने मिति ताेकिएकाे छ । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा ढीलाेमा असार २४ गतेसम्म आवेदन दिन सकिने भएकाे छ । लगानीकर्ताले घटिमा २५ तथा बढीमा २० लाख कित्तासम्मका लागि आवेदन दिन पाउने छन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ।