एक हप्तापछि नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबारमा नेपाल टेलिकम अब्बल

-



     सफल आवाज    
     असार २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ असार । लगातार ओरालो लाग्दै आएको सेयर बजार बिहिबार आठौं दिनमा उकालो लागेको छ । अघिल्ला दिनहरुको रातो घेरोलाई तोड्दै नेप्से उकालो लागेको हो ।

नियामक निकाय र राष्ट्र बैंकसंगको छलफल, आन्दोलन, बजेटको पखाई, बैंकको ब्याजदरबाट प्रभावित हुँदै आएको सेयर बजार सातै प्रदेशका सरकारहरुले बजेट भाषण गरेको भोलिपल्टै बिहिबार सकारात्मक लयमा देखिएको छ । यसले लगानीकर्ताहरुको मनोबल बढाएको छ ।

वित्त बजारमा तरलताको स्थिति कायमै रहेको र बैंकहरुमा डिपोजिटको मात्रा ज्यादै न्यून भईरहेको अवस्थामा बजारमा कुनैपनि दिनमा फेरि करेक्सन आउने स्थिति जिवितै रहेको छ । किनकी बजार सुध्रिएको छैन भने आन्दोलित लगानीकर्ताहरु शान्त भईसकेका छैनन् ।

नेप्से परिसूचक १२.५७ अंकले बढेर १९७८.९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा यसदिन ०.६४ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स ३.१० अंकले बढेर ३८२.०० विन्दुमा पुगेको छ ।

कुल २२१ कम्पनीको सेयर कारोबार भएको छ । ३५ लाख ९४ हजार ५९४ कित्ता सेयरको कारोबार भएको छ । बुधबारको भन्दा झण्डै ६ लाख कित्ता कम सेयर खरिदबिक्री भएको छ । आजको कारोबारबाट १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार अघिल्लो दिनको तुलनामा ३१ करोड कम हो ।

नेप्सेका अनुसार कुल १३ उपसमूहमध्ये ११ वटामा हरियो लागेको छ । दुईवटामा रातो लागेको छ । हरियो लागेको बैंकिङतर्फ ५.७२ अंकको बृद्धि देखिएको छ । व्यापारतर्फ २३.७५ अंकले बृद्धि भएको छ । होटल तथा पर्यटनतर्फ १२.२५ अंकले, विकास बैंकतर्फ २३.३८ अंकले, हाइड्रोपावरतर्फ ८.५२ अंकले बढेको छ ।

यस्तै फाइनान्सतर्फ १४.०४ अंकले, नीर्जिवन बीमातर्फ ३४ अंकले, उत्पादनतर्फ २५.४१ अंकले, अन्यतर्फ ४०.७९ अंकले र माइक्रोफाइनान्सतर्फ ३८.४ अंकले र म्युचुअल फण्डतर्फ ०.१ अंकले बढेको छ।

रातो लागेका अर्थात् सेयर घटेकाहरुमा जीवन बीमा उपसमूहको ४.११ अंकले घटेको छ । लगानी उपसमूहतर्फ ०.०६ अंको गिरावट भएको छ ।

कारोबारको आधारमा आज पनि नेपाल टेलिकमको कारोबार सबैभन्दा बढी भएको छ । टेलिकमको १३ करोड ८८ लाख ९७ हजार १५१ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।