सेयर बजारमा ७.५६ अंकको गिरावट, कारोबार घटेर ७३ करोडमा झर्याे

-



     सफल आवाज    
     असार ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ असार । शुक्रबार सेयर कारोबार हुने अन्तिम दिन हो । साताको सेयर काराेबार हुने यसदिन नेप्से ओरालो लागेको छ । सेयरको खरिदबिक्री तथा कुल कारोबार रकम निकै कम भएको छ ।

बिहीबार नवौं दिनमा उकालो लागेकोमा आज भने फेरि ओरालो झरेको छ । सेयर बजारमा भईरहेको नकारात्मक लयले लगानीकर्ताहरुलाई निरुत्साहित त गर्दैन भन्ने चिन्ता बढेको छ ।

अहिलेसम्म नियामक निकाय तथा सरोकार राख्ने निकाय, राष्ट्र बैंक लगानीकर्ताहरुका मागका बारेमा सकारात्मक रहेको भनेता पनि स्पष्ट खाका बाहिर नल्याउँदा समस्या यथाबत् रहेको छ । लगानीकर्ताहरु मारमा परेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन् भने संघर्ष समितिका संयोजक तिलक कोईराला आमरण अनसनमा बसिरहेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ३ वजे अगावै बन्द भएको सेयर बजारमा ७.५६ अंकको गिरावट भएको छ भने १९७१.३८ विन्दुमा झरेको छ । नेप्सेमा ०.३८ प्रतिशतको गिरावट भएको हो । सेन्सेटिभ इण्डेक्स ०.६९ अंकले घटेर ३८१.१४ विन्दुमा रहेको छ ।

कुल २२० कम्पनीको सेयर कारोबार भएको छ । २३ लाख ५५ हजार १ कित्ता सेयरको खरिदबिक्रीबाट ७३ करोड ६३ लाख १२ हजार १५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये म्युचुअल फण्डमा मात्रै हरियो लागेको छ । बाँकी १२ उपसमूहका रातो लागेको छ । सबैको सेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको कारोबार भएको छ । टेलिकमको १० करोड १४ लाख ७० हजार ८७९ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको हो ।