रोकिएन नेप्सेको ओरालो यात्रा, नियामक निकाय माैन

-



     सफल आवाज    
     असार ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ असार । सेयर बजारको ओरालो यात्रा जारी नै रहेको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार सेयर बजार राताम्मै हुँदा लगानीकर्ताको बनोवल झन् घटाएको छ । कारोबार रकममा पनि उल्लेखनीय बृद्धि भएको छैन ।

लगानीकर्ताहरु यतिबेला आन्दोलनमा पनि गरिरहेका छन् । संघर्ष समितिका संयोजक तिलक कोईराला आमरण अनशनमा बसिरहेका छन् भने सरकार तथा नियामक निकायबाट आधिकारिक धारणा बाहिर आउन सकेको छैन । लगानीकर्ताहरुले सरकारको बेवास्ताको कारण सेयर बजार माथि उठ्न नसकेको र धरासायी बन्न लागेको बताएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ विन्दुमा झरेको छ । नेप्सेमा १.८९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिक इण्डेक्स ७.२९ अंकले घटेर ३७३.८५ विन्दुमा रहेको छ ।

नेपाल स्टक एक्सचेन्जले यसदिन कुल २२३ कम्पनीको सेयर कारोबार भएको जनाएको छ । ३६ लाख ६६ हजार ८९१ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरु राताम्मै भएका छन् र उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको कारोबार भएको नेप्सेले जनाएकाे छ । टेलिकमको १० करोड २९ लाख ८९ हजार ७६१ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।