हरियाली छाएको भोलिपल्टै सेयर बजार राताम्मै, कारोबार झर्यो ८४ करोडमा

-



     सफल आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ असार । अघिल्लो दिन मंगलबार हरियाली छाएको सेयर बजारमा त्यसको भोलिपल्टै आज बुधबार राताम्मै भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन नेपाली बजारमा पुनः करेक्सन हुँदा लगानीकर्ताको मनोवल झन् घटाएको छ ।

लगानीकर्ताहरु यतिबेला नेपाल राष्ट्र बैंकले लागू गरेको सेयर धितो कर्जामा ४/१२ करोडको सिमा लगायतका माग राखेर बैंककाे मापदण्ड खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

संघर्ष समितिका संयोजक तीलक कोईराला आमरण अनशनमा बसिरहेका छन् । अहिलेसम्म नियामक निकाय समस्या समाधानका लागि मौन रहेको छ । यसैको कारण लामो समय देखि सेयर बजार ओरालो लाग्दै आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३१.२१ अंकले घटेर १८९३.५३ विन्दुमा झरेको छ । नेप्सेमा १.६२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.९४ अंकले घटेर ३६९.१५ विन्दुमा पुगेको छ ।

कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । ३० लाख ३४ हजार ४८३ कित्ता सेयरको खरिदबिक्री हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ३ करोड ३९ लाख ६६ हजार ५४८ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।