‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ मा आजदेखि आवेदन खुला

-



     सफल आवाज    
     असार १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० असार । सानिमा बैंक लिमिटेडले आजदेखि ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेकाे छ । वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरिएकाे हाे । बैंकले बिक्रीमा ल्याएकाे ऋणपत्रको अवधि १० वर्ष अवधिकाे रहेकाे छ ।

बैंकले प्रतिकित्ता रुपैयाँ १ हजार अंकित दरमा ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेकाे हाे। यसबाट २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारण लगानीकर्ताका लागि रहेकाे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरले बिक्री गर्ने भएकाे छ। ऋणपत्रमा सामूहिक लगानी कोषकाे तर्फबाट आवेदन पेश भएको छैन।

लगानीकर्ताले छिटाेमा असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । साे अवधिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा असार २४ गतेसम्म आवेदन पेश गर्न सकिनेछ । यसका लागि घटिमा २५ कित्ता र बढीमा २० लाख कित्तासम्मका लागि आवेदन दिन पाइने छ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ।