७४.९३ अंकले बढ्यो नेप्से, २ अर्ब ४५ करोड बढीकाे कारोबार

-



     सफल आवाज    
     असार १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ असार । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजार सकारात्मक लयमा देखिएको छ । नेप्सेमा छाएको हरियालीले लगानीकर्ताहरुलाई उत्साही बनाएको छ । यसदिन काराेबार रकममा पनि सुधार भएकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.८२ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १२.६३ अंकले बढेर ३९१.७८ विन्दुमा पुगेकाे छ ।

कुल २२७ कम्पनीको सेयर कारोबार भएको छ । ७२ लाख ५४ हजार ७० कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबै १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी यसदिन शिव सिमेन्ट्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ९ करोड ९५ लाख २० हजार ६३० रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।