सेयर बजार राताम्मै, सानिमा बैंक संस्थापक सेयरकाे ३० करोडको कारोबार

-



     सफल आवाज    
     असार २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ असार । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजार सेयर राताम्मै भएको छ । सबै सूचकहरु घटेका छन् ।

लामो समयसम्म आन्दोलनमा रहेका लगानीकर्ताहरुको गठित संघर्ष समिति तथा सेबोनबीच १९ बुँदे सहमति भएपछि सेयर बजारमा उछाल आउला भन्ने अपेक्षा पुरा हुन पाएको छैन । जसकाे कारण लगानीकर्ताको मनोबल घटेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा निकै घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४६.०८ अंकले घटेर २०३०.५९ विन्दुमा झरेको छ । नेप्सेमा २.२२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ८.७१ अंकले घटेर ३८७.२३ विन्दुमा रहेको छ ।

कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । ८६ लाख १३ हजार ४८९ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२४ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार अघिल्लो दिनको तुलनामा डेढ करोड बढीले कम भएकाे छ ।

कुल १३ उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबाररको आधारमा सबैभन्दा बढी सानिमा विकास बैंक लिमिटेड प्रमोटर सेयरको कारोबार भएको छ । सो कारोबार ३० करोड २० लाख बराबरको रहेको छ ।

सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य भने सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य घटेर २ सय ११ रूपैयाँमा झरेको छ ।