गर्भनरको राजिनामा हल्लाबीच नेप्से उकालो लाग्दै, एनआईसी एशिया बैंककाे ३० कराेड बढीकाे काराेबार

-



     सफल आवाज    
     असार ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० असार । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा बृद्धिसंगै कारोबार रकममा पनि बृद्धि भएको छ । लगातार दोश्रो दिनको सेयर बजारको सकारात्मक माहाेलले लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।

लामो समयसम्म १९ बुँदे माग राखेर आन्दोलनमा रहेका लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन) संग १९ बुँदे सहमति गरेपछि पनि ढुक्क भएका थिएनन् र उनीहरु अझैं पनि नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४/१२ को क्यापको कारण असन्तुष्ट रहिरहेका छन् ।

आर्थिक वर्ष २०७९/०८० को बजेटपछि बजारमा सुधार आउनुको सट्टा नकारात्मक लयमा गईरहेको थियो । बजेट निर्माणको समयमा बिचौलीया मानिसलाई अर्थमन्त्रालयमा घुसाएको आरोप खेपेका अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिईसकेका छन् ।

उनले नैतिक रुपमा राजिनामा गरेपछि पुनः सेयर बजारमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजिनामा मागेको प्रकरणको प्रभाव परेको अनुमान गरिएको छ । किनभने अधिकारीको राजिनामाको कुरा आए लगत्तै बुुधबार र बिहिबार हरियाली छाएको छ । स्वयं लगानीकर्ताहरु पनि यस कुरामा सहमत भएकाे बताउँछन् ।

एमालेको अन्तर पार्टी निर्देशनको अर्थ विभागमा एम अधिकारी, खोटाङ रहेकोले एम अधिकारी भनेको गभर्नर महाप्रसाद अधिकारी नै हाे भन्ने कतिपयले लख काटेकाले उनको राजिनामा माग गरिएको छ । यहीबिचमा गभर्नर अधिकारीले आफ्नो कुनै पार्टी र संगठनसंग सम्बन्ध नभएको बताएका छन् भने एमालेले एम अधिकारी गभर्नर नभएको बताएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार नेप्से परिसूचक १४.७१ अंकले बढेर २००१.५३ विन्दुमा पुगेको छ । नेप्सेमा ०.७४ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिक इण्डेक्स १.७८ अंकले बढेर ३८३.१४ विन्दुमा पुगेको छ ।

यसदिन २२० कम्पनीको सेयर कारोबार भएको छ । ६२ लाख १० हजार ९०८ कित्ता सेयुरको कारोबारबाट २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँ बराबरको कारोबार भएको छ । १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ३० करोड १८ लाख ८६ हजार ७३८ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।