एनआईसी एशिया बैंकले साढे ४ अर्ब खुद नाफा कमायाे

-



     सफल आवाज    
     श्रावण ५ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ५ साउन । एनआईसी एशिया बैंककाे खुद नाफा र ईपीएस दुबैमा वृद्धि भएकाे छ । बैंककाे प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा र ईपीएस दुवैमा वृद्धि भएकाे हाे ।

गएकाे आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिकोभन्दा ३८.८६ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब २५ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा बृद्धि भएपछि बैंकको नाफामा वृद्धि भएकाे हो।

बैंकको खुद ब्याज आम्दानी २७.५८ प्रतिशत, कमिसन आम्दानी २४.३७ प्रतिशतले, खुद सञ्चालन आम्दानी २५.९२ प्रतिशत र सञ्चालन मुनाफा ३३.५९ प्रतिशतले बढेको छ।

बैंककाे असार अन्तिमसम्म वितरण योग्य मुनाफा २ अर्ब २४ करोड रुपैयाँ रहेको छ। ईपीएसमा पनि वृद्धि भएकाे छ। याे आम्दानी १० रुपैयाँ ९५ पैसा बढेर ३९ रुपैयाँ १३ पैसा भएकाे छ। बैंकको मूल्य आम्दानी रेसियाे १७.७९ गुणा र प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ५२ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको जगेडा कोषमा ४५.५१ प्रतिशतले वृद्धि भएकाे छ। निक्षेपमा १ प्रतिशत तथा कर्जामा १.४८ प्रतिशतले बृद्धि भएकाे छ।