सेयर धितोमार्फत् एकै वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा लिन सकिने

-



     सफल आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ साउन । सेयर धितो कर्जामा लगाइँदै आएको प्रतिव्यक्ति प्रतिबैंकको सीमामा केही संशोधन गरिएको छ। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा राखेको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाइएको ४/१२ क्यापको प्रावधानको ४ करोडको सीमा हटाएको हो।

चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत् न्यूनतम ४ करोडको सीमा हटाइएको तर अधिकतम १२ करोडको सीमा भने जस्ताको तस्तै राखिएको छ । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति प्रस्तुत गर्दै यस्तो प्रावधान लागू गरिएको बताएका हुन्।

४/१२ को सीमा वित्तीय संस्थाहरुले सेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जामा जोखिम न्यूनीकरण गर्ने तथा साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले राखिएको थियो।

नयाँ व्यवस्थाअनुरुप एक व्यक्ति वा संस्थाले १२ करोडसम्मको कर्जाका लागि फरक फरक वित्तीय संस्थाबाट ४ करोड लिनु नपर्ने र एकै बैंकबाट १२ करोड सम्म कर्जा लिन सक्नेछन् ।