
काठमाडौ, ७ साउन । शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले सेयर कर्जामा रहेको ४/१२ को क्यापमा केही परिमार्जन गरेको छ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारसम्बन्धी ४/१२ बाहेक पनि लगानीकर्ताका लागि सकारात्मक हुने अन्य थुप्रै नीतिगत व्यवस्था गरेको छ । ती नीतिगत व्यवस्थामा सेयर धितो कर्जामा न्यूनतम सीमा खारेजी, बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार नरोकिनेसम्मका रहेका छन्।
विषम परिस्थितिमा कस्तो मौद्रिक नीति आउला भनेर पर्खिरहेका लगानीकर्ताहरुमा यी व्यवस्थाहरुले सकारात्मकता छाएको देखिन्छ । यसअघि रहेको ४/१२ मध्ये १२ करोड ऋणको सीमा कायमै रहे पनि उक्त ऋण एउटै वित्तीय संस्थाबाट पाइने र बैंक तथा वित्तीय संस्था मर्जरका बेला पनि कारोबार नरोकिने प्रावधानले लगानीकर्ताहरु सेयर बजारमा लगानीका लागि थप उत्साहित भएको इंगित गरेको छ।
यसअघि अधिकतम सेयर धितो राखेर लिन सकिने अधिकतम १२ करोड कर्जामध्ये एक व्यक्तिले एउटा वित्तीय संस्थाबाट ४ करोडसम्म मात्र लिन सक्ने व्यवस्था थियो । १२ करोडका लागि कम्तीमा पनि तीन ओटा बैंक चाहार्नुपर्ने बाध्यता रहेकामा मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले उक्त समस्या सम्बोधन गर्ने व्यवस्था गरेपछि लगानीकर्तामा केही हदसम्म भए पनि हर्षको माहोल देखिएको हो ।
अघिल्लो मौद्रिक नीतिमा रहेको ४/१२ को व्यवस्थाले लगानीकर्ताहरु रुष्ट हुँदै साना लगानीकर्ता मर्कामा परेको गुनासो गरेका थिए। उनीहरुले तत्काल उक्त व्यवस्था हटाउन नियामक निकायदेखि प्रधानमन्त्रीसम्म आग्रह गरेका थिए भने दबाबका लागि कतिपय लगानीकर्ताहरू अनसन नै बसेका थिए ।
तर कतिपय लगानीकर्ताहरूको भने मौद्रिक नीतिमार्फत् अझै पनि पूर्ण सन्तुष्ट हुन सक्ने आधार नदेखिएको धारणा रहेको छ। ४/१२ को सीमा पूर्ण रुपमा हट्ने अपेक्षा गरेका लगानीकर्ता भने राष्ट्र बैंकले ४ को सीमा मात्र परिमार्जन गरेर १२ करोडको व्यवस्था यथावत् राखेर चलाखी गरेको बताउँछन्।
यस सम्बन्धमा इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार राष्ट्र बैंकले मौद्रिक नीतिमा ल्याएको व्यवस्थाले लगानीकर्ताका लागि केही मात्रामा सन्तोषजनक रहेको बताएका छन् । उनी भन्छन्, ‘चर्चामा रहेको ४/१२ को नीति आवश्यक थिएन, तर राष्ट्र बैंकले ४ भने हटाएको छ।’
१२ करोड कर्जाका लागि तीन वटा बैंक तथा वित्तीय संस्था धाउन नपर्नुलाई उनले सकारात्मक रुपमा लिएका छन् । नीतिगत व्यवस्थामा सेयर धितोमा दिइने २५ लाखसम्म कर्जामा १०० प्रतिशत तथा त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिमभार राख्नुपर्ने व्यवस्थामा केन्द्रीय बैंकले कुनै फेरबदल गरेको छैन ।
मिश्रित प्रतिक्रिया जनाएका रौनियारले जोखिमभारको यो व्यवस्था आवश्यक नरहेको जनाउँदै मर्जर तथा प्राप्तिको समयमा कारोबार नरोकिने व्यवस्था भने सकारात्मक रहेको टिप्पणी गरे ।
अर्का सरोकारवाला ब्रोकर एसोसियसनका अध्यक्ष सन्तोष मैनाली पनि मौद्रिक नीतिमा गरिएको सेयर बजार सम्बन्धी व्यवस्था सकारात्मक मान्छन् । उनले ब्रोकरमार्फत मार्जिन ल्याण्डिङलाई व्यवस्थित गर्नु्पर्ने आफ्ना माग केन्द्रीय बैंकले पूरा गरिदिएकोमा सन्तोष व्यक्त गरे । उनले भने, ‘हाम्रा प्राय मागहरू सकारात्मक छन् र मौद्रिक नीतिले सबै मागहरू पूरा गरिदिएको छ।’
मैनालीले पनि रौनियारले झैं मर्जर र प्राप्तिको समयमा कराोबार नरोक्ने राष्ट्र बैंकको व्यवस्था निकै राम्रो रहेको टिप्पणी गरे । यसैगरी शेयर लगानीकर्ता केशव कोइरालाले लगानीकर्तालाई सहज हुने किसिमको नै मौद्रिक नीति आएको विचार व्यक्त गरे ।
लगानीकर्ताहरुको छाता संगठनका सरोकारवाला तथा लगानीकर्ताहरुले सकारात्मक टिप्पणी गरेकाले मौद्रिक नीतिमा सेयर बजारसम्बन्धी गरिएको व्यवस्थाले लगानीकर्ता उत्साहित भएर आउँदा दिनमा सेयर कारोबार सकारात्मक हिसाबले बढ्ने अपेक्षा गर्न सकिन्छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




