गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग एप अब ‘डिजि बटुवा’

-



     सफल आवाज    
     श्रावण ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ साउन । गरिमा विकास बैंकले पुरानो मोबाइल बैकिङ एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ । प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवा सुविधा सहित स्तरोन्नति गरिएपछि यो एपको नाम अब ‘गरिमा स्मार्ट’बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार ‘डिजि बटुवा’ अन्तर्गत गरिमा विकास बैंकका ग्राहकहरुले ‘एपमा पनि, अनि वेबमा पनि’ एउटै यूजरनेम र पासवर्ड प्रयोग गरी सजिलै पैसा ट्रान्सफर, बिजुली, टेलिफोन, इन्टरनेटको बिल तथा ट्राफिक चिटजस्ता विभिन्न बिल भुक्तानीहरु र मोबाइल टप–अप, बैंक स्टेटमेन्ट, चेक स्टेटमेन्ट रिक्वेस्ट, क्यूआर पेमेन्टजस्ता विभिन्न सुविधाहरु सजिलै प्रयोग गर्न सक्नेछन् ।

स्तरोन्नति पछि ‘डिजि बटुवा’ अझ बढी सुरक्षित एवं ग्राहकमैत्री भएको दावी गर्दै अब ग्राहकहरुले सजिलै प्लेस्टोर तथा एपस्टोरबाट एप डाउनलोड गरी प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकले ग्राहकमैत्री प्रविधिहरु भित्र्याउने क्रममा गत वर्ष पनि चेकबुकरहित रुपमा शाखाहरुबाट मोबाइल बैकिङ्ग मार्फत पैसा निकाल्न मिल्ने गरिमा स्मार्ट टेलर नामको सुविधा उपलब्ध गराएको थियो ।

हाल यो विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, एउटा एक्स्टेन्सन काउण्टर र ५१ ओटा एटीएममार्फत् गुणस्तरीय बैकिङ सेवा दिँदै आइरहेको छ ।