व्यापार घाटा २३ प्रतिशतले बढ्यो, निर्यातको हिस्सामा पनि उल्लेख्य वृद्धि

-



     सफल आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ साउन । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले २१ खर्ब, २० अर्ब, ४७ करोड, ९३ लाख ११ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ।

हालै भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को समग्र वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालका २६ ओटा भन्सार कार्यालयबाट उक्त रकम बराबरको आयात निर्यात भएको हो।

प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँ बराबरको आयात भएको छ भने २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको निर्यात भएको छ। यो अवधिमा समग्र व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रहेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार रहेकामा यो वर्ष २३ प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ।  

प्रतिवेदन अनुसार समग्र व्यापारमा आयात र निर्यातको हिस्सा क्रमश: ९०.५७ र ९.४३ रहेको छ। आयात निर्यातको अनुपात ९.६ रहेको र आयात उच्च र निर्यात कम हुनाले व्यापार घाटामा प्रभाव परेको देखिन्छ।

आर्थिक वर्ष २०७७/७८ मा आयातको समग्र व्‍यापारमा हिस्सा ९१.६० प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा ९०.५७ मा झरेको हो। यसलाई सकारात्मक मान्न सकिन्छ। यसैगरी समग्र व्‍यापारमा निर्यातको हिस्सा ८.४० मात्र रहेकोमा गत आर्थिक वर्षमा १२.३६ प्रतिशतको बढोत्तरीसहित ९.४३ मा पुगेको हो।  

आर्थिक वर्ष २०७७/७८ को तुलनामा आयात र निर्यात रकममा क्रमश: २४.७२ तथा ४१.७४ प्रतिशतले बढेको पाइएको छ। तर समग्र व्‍यापारको हिस्सा अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात १.३ प्रतिशतले घटेको छ भने निर्यात १२.३६ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०७७/७८ मा आयात १५ खर्ब ३९ अर्ब ७३ करोड ७० लाख ६८ हजार बराबरको भएकोमा २०७८७९ मा उक्त रकम बढेर १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँ पुगेको छ।

यसै गरी निर्यात रकम पनि अघिल्लो आर्थिक वर्षमा १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँ बराबरको रहेकोमा गत आर्थिक वर्षमा त्यसको ४१.७४ प्रतिशतले वृद्धि भएर २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँ बराबर पुगेको तथ्याङ्कमा उल्लेख छ।