रसुवागढीको आईपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     श्रावण ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ साउन । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओमा आवेदन दिने म्याद २१ दिन थप गरेको छ । कम्पनीले गत असार १३ गतेदेखि निष्कासन गरेको आईपीओमा माग गरेजति आवेदन नपरेकाले म्याद थप गरिएको बुझिएको छ।

कम्पनीले गत असार १३ गते खुलाएको आईपीओको समयसीमा शुरुमा असार २७ गतेसम्म तोकेको थियो तर उक्त समयसम्म मागअनुसारको आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गर्न सकिने व्यवस्था थियो। साउन १० गतेसम्म लम्ब्याइएको म्यादभित्र पनि माग बमोजिम आवेदन नपर्ने देखिएकोले कम्पनीले २१ दिन थप गरेको बताइएको छ।

साँझसम्म २७ हजार ७०८ आवेदकले ५२ लाख ७१ हजार ५७० कित्ताको लागि आवेदन दिएका र उनीहरुबाट उक्त अवधिसम्म ५२ करोड ७१ लाख ५७ हजार रुपैयाँ संकलन भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सिदार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको उक्त आईपीओमा न्यूनतम १० र अधिकतम ७ सय कित्ताका लागि आवेदन दिन सकिनेछ भने आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ६८ लाख ४२ हजार १०० कित्ता सेयर छुट्याइएको छ।