एभरेष्ट बैंककाे नाफा बढ्याे, यस्ताे छ वितरणयोग्य मुनाफा

-



     सफल आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ साउन । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमास अर्थात् असार मसान्तसम्म २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले यो अवधिमा ५ अर्ब ४२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

बैंकको सञ्चालन मुनाफामा आएको वृद्धिले खुद नाफा बढाएको बुझिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ५४ करोड ८४ लाख रूपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिसम्म ४२.८२ प्रतिशतले बढेर ३ अर्ब ६३ करोड ९६ लाख रूपैयाँभन्दा बढी हुन पुगेको तथ्याङ्क छ ।

बैंकले हालै प्रकाशन गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्‍त परिमाणमा खुद नाफा आर्जन गरेको उल्लेख छ। उक्त अवधिमा बैकको वितरणयोग्य नाफा भने ३ अर्ब ८९ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको पाइएको छ । यसरी हेर्दा समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा खुद नाफाभन्दा झण्डै १ अर्ब  ३४ करोड हाराहारीले बढी देखिन आएको छ ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म गरेको २ अर्ब ५४ करोड ६० लाख रूपैयाँ खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा ७७ करोड रुपैयाँ हाराहारीले बढी हो। उक्त अवधिमा बैंकले १ अर्ब ७७ करोड ९ लाख रूपैयाँ भन्दा बढी खुद नाफा गरेको थियो जुन गत आर्थिक वर्षको तुलनामा ४३.७७ प्रतिशतले बढी हो ।

वित्तीय विवरण अनुसार बैंकको निक्षेप संकलन अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ खर्ब ७२ अर्ब ७३ करोड ९१ लाख रूपैयाँ रहेको छ भने कर्जा प्रवाहको रकम १ खर्ब ४५ अर्ब ४७ करोड ४० लाख रूपैयाँ बराबर रहेको छ।

समीक्षा अवधिमा बैंकको प्रति सेयर आम्दानी २७.०१ तथा प्रति सेयर नेटवर्थ २४०.७३ रहेको छ भने निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्षमा रहेको ०.१२ प्रतिशतबाट ०.२४ प्रतिशतमा पुगेको छ ।