जलेश्वर भन्सारले गर्यो १८१ प्रतिशत राजस्व असुली

-



     सफल आवाज    
     श्रावण १३ गते २०७९ मा प्रकाशित



महोत्तरी, १३ साउन । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा लक्षितभन्दा १८१ प्रतिशत राजस्व असुली गरेको छ । भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लीराम सुवेदीका अनुसार १ अर्ब ७० करोड ७० लाख ७७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले उक्त अवधिमा ३ अर्ब ९ करोड ३४ लाख ७० हजार रुपैयाँ असुली गरेको हो ।

उक्त कार्यालयले  पैठारी महसुलतर्फ १ अर्ब ११ करोड ८२ लाख ७ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब ८६ करोड ३९ लाख २४ हजार असुली भएको छ । यसैगरी मूल्य अभिवृद्धि करतर्फ ४३ करोड ५२ लाख रुपैयाँको लक्ष्यमा ९४ करोड ७६ लाख ४१ हजार रुपैयाँ सङ्कलन भएको पाइएको छ ।

अन्तशुल्क तर्फ भने ५ करोड ३१ लाख ६९ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएकोमा ४ करोड ८१ लाख ३४ हजार रुपैयाँ मातेर असुली हुन सकेको छ । अन्यतर्फ १० करोड ५ लाख १ हजार रुपैयाँ सङ्कलनको लक्ष्य लिइएकाेमा दोब्बरभन्दा बढी अर्थात् २३ करोड ३७ लाख ७२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।