३१ कम्पनीको ‘एनआई३१’ तयार गर्दै नबिल इन्भेष्टमेन्ट

-



     सफल आवाज    
     श्रावण १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ साउन । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले नेपाल स्टक एक्स्चेन्जमा सूचीकरण भएर कारोबार गरिररहेकामध्ये ३१ वटा कम्पनीहरुको एनआई ३१ सूची तयार गर्ने भएको छ। विभिन्न आधारभूत सूचकको आधारमा छनौटमा परेका ती ३१ कम्पनी को अन्तिम मूल्यको आधारमा एनआई ३१ सूची तयार गरिने कम्पनीले जनाएको छ ।

भविष्यमा सञ्चालन हुनसक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहकलाई लक्षित गरेर यो सूची तयार गरिन लागेको हो ।

छनौटमा परेका ३१ कम्पनीहरुको दैनिक कारोबारको आधारमा तयार गरिने एनआई३१ दैनिक रुपमा कम्पनीको आधिकारिक वेबसाइट तथा सामाजिक सन्जाल मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

यसबाट लगानीकर्ताहरुलाई मूल्य सूचकका आधारमा नेप्सेसँगको तुलनात्मक अध्ययन गर्न, मूल्य सूचकको आधारमा मूल्यमा हुने परिवर्तनको अध्ययन गर्न, नेप्से परिसूचकको भारित पुँजीगत औसतका कमी-कमजोरी तथा विशेषताको तुलना गर्न तथा थोरै कम्पनीको मूल्यमा हुने परिवर्तनबाट समग्र पुँजी बजारको अध्ययन गर्न समेत सहयोग पुग्ने कम्पनीको विश्वास छ ।