कार्गो व्यवसायमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध: मन्त्री बडू

-



     सफल आवाज    
     श्रावण १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार कार्गो व्यवसायमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले २८ औं कार्गो दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री बडूले उक्त जानकारी दिँदै त्यसका लागि केही नीतिगत काम पनि अगाडि बढिसकेको भन्दै नेपालको ‘लजिस्टिक पोलिसी’ को मस्यौदा मन्त्रिपरिषद्मा पुगिसकेको पनि थपे ।

मन्त्री बडूले दक्षिणी तथा उत्तरी सीमाका विभिन्न नाकाहरुमा सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीहरुको निर्माण गर्ने नीतिअनुसार काम भइरहेको र सीमानाकामा आवश्यक क्वारेन्टिन ल्याब सुविधा व्यवस्थापनमा सरकारको ध्यानाकर्षण भएको उल्लेख पनि गरे।

यसैगरी अहिले सञ्चालनमा आएको चोभार सुख्खा बन्दरगाह र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रुपमा कार्गो सेवा सञ्चालन गर्न कार्गो व्यवसायीहरुको महत्वपूर्ण र सक्रिय सहयोगको अपेक्षा रहेको पनि मन्त्री बडूले बताए ।

कार्यक्रममा मन्त्री बडूले देशमा रहेका उद्योगधन्दा, दैनिक आवश्यकताका सामानहरु समेत आयात गर्नुपर्ने बाध्यता रहेको अवस्थामा सरकारले स्वदेशी उत्पादन अभिवृद्धिका लागि विभिन्न कार्यक्रम तय गरेको र नेपाल उद्योग वाणिज्य महासंघले अघि सारेको भिजन २०३० ले औंल्याएका विषयहरुमा पनि छिट्टै समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिए  ।