जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त हुँदै

-



     सफल आवाज    
     श्रावण १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ साउन । बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको संलग्नता रहेको आरोपमा राजीनामा दिएका जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेपछि उनको अर्थमन्त्रीमा पुनर्बहाली हुने भएको हो ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि असार २२ गते शर्माल् तत्कालीन अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । उक्त बजेट निर्माणका बेलाको सीसीटीभी फुटेज डिलिट भएको घटनाले उनी थप आलोचित भएका थिए।

प्रहरीको प्राविधिक टोलीले केही दिनअघि डिलिट भएका फुटेज रिकभर गरेर समितलाई बुझाएको थियो। यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो । त्यसपछि नै जनार्दन शर्माको पुनर्बहाली हुन सक्ने संकेत देखिएको थियो।