आईओसीले घटायाे पेट्रोलियमको भाउ, घट्ला त नेपालमा ?

-



     सफल आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित



काठमाडौँ, १६ साउन । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको घटेको मूल्य सूची नेपाल आयल निगमलाई पठाएको छ । आईओसीले सोमबार पठाएको सूचीमा डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेको छ ।

नयाँ मूल्यसूचीमा पेट्रोलियमको भाउ अघिल्लो पटकको जस्तै घटेर आएको खबरले उपभोक्तामा अब भने पेट्रोलियम पदार्थको भाउ घट्ला भन्ने आशा पलाएको छ।

यसअघि पनि आईओसीले नेपाल आयल निगमलाई डिजेल र पेट्रोलमा १६ रुपैयाँ ५० पैसा घटाएको सूची पठाएको थियो। त्यति बेलै नेपालमा पेट्रोलियम पदार्थको भाउ घट्ने आशा गरेका सर्वसाधारण आयल निगमले बक्यौता शून्यमा नआई भाउ नघट्ने सार्वजनिक गरेपछि निराश बनेका थिए।

निगमका अनुसार मूल्य घटेर आएपछि अब समग्रमा निगमको मासिक नोक्सानी डेढ अर्ब हाराहारीमा झर्नेछ । यो आँकडा हेर्दा पेट्रोलको बिक्रीबाट निगमलाई धेरै पछि नाफामा हुने भएको छ । आईओसीबाट घटेर आएपनि हालको मूल्य यथावत राखेर पेट्रोल बिक्री गरेको खण्डमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा हुने देखिएको छ । डिज‍ेलमा भने अझै प्ररतिलिटर १० रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने क्रम यथावत रहेपछि आईओसीबाट लगातार दोस्रो पटक घटेको मूल्यसूची आएको हो।