फेरि नेप्सेमा करेक्सन, काराेबार रकम ३ अर्ब २९ कराेडमा झर्याे

-



     सफल आवाज    
     श्रावण १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ साउन । केहि दिन उकालो लागि रहेको नेपाली सेयर बजारमा मंगलबार एकाएक करेक्सन देखिएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन आज सेयर बजारमा आएको करेक्सनले फेरि लगानीकर्ताको मनोबल घटाएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा १ अर्ब ३८ करोडले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.८१ अंकले घटेर २१९३.४३ विन्दुमा झरेको छ । नेप्सेमा ०.१३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले घटेर ४२१.१३ विन्दुमा रहेको छ ।

यसदिन कुल २१७ कम्पनीहरुको सेयर कारोबार भएको छ । ७८ लाख १३ हजार १०२ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ६ वटामा हरियो लागेको छ र उनीहरु सबैको सेयर बढेको छ । व्यापारतर्फ ३७.६ अंकले, हाइड्रोपावरतर्फ २८.५६ अंकले, फाइनान्सतर्फ २३.२३ अंकले, उत्पादनतर्फ ०.९२ अंकले, माइक्रोफाइनान्सतर्फ ४१.७७ अंकले र म्युचुअm फण्डतर्फ ०.०३ अंकले बढेको छ ।

रातो लागेकाहरुमा यसदिन बैंकिङतर्फ ६.२६ अंकले घटेको छ । होटल तथा पर्यटनतर्फ २८.३२ अंकले, विकास बैंकतर्फ २१.१२ अंकले, नीर्जिवन बीमातर्फ ७.६६ अंकले, अन्यतर्फ १७.३१ अंकले, जीवन बीमातर्फ ६४.४६ अंकले र लगानीतर्फ ०.४४ अंकले सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आज पनि शिवम् सिमेन्ट्सको कारोबार भएको छ । कम्पनीको २९ करोड ३२ लाख २७ हजार १५६ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । विन्ध्याबासिनी हाइड्राेपावर, सामलिङ्ग पावर र हिमाल दाेलखा हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य ४.२४ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २ सय ८८ रूपैयाँ कायम भएकाे छ ।