मुक्तिनाथ विकास बैंककाे खुद नाफामा १८.४७ प्रतिशतकाे बृद्धिसंगै ईपिएस पनि बढ्याे

-



     सफल आवाज    
     श्रावण १९ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १९ साउन । मुक्तिनाथ विकास बैंकले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ ।

बैंककाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा अन्य सूचकहरूमा पनि निकै सुधार देखिएकाे छ।

बैंकले कमाएकाे रू १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा १८.४७ प्रतिशतले बढी भएकाे छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले रू १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यसपटक बैंककाे अघिल्लाे वर्षकाे नाफामा बढेकाे २२ कराेड थपिएर नाफा १ अर्ब ३७ कराेड पुगेकाे हाे।

बैंककाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा बृद्धि भएपछि खुद नाफा बढ्न सहयाेग पुगेकाे हाे । बैंककाे वितरण गर्न योग्य नाफा ८१ करोड ५९ लाख रुपैयाँ रहेको जनाइएकाे छ।

खुद ब्याज आम्दानी २१.०८ प्रतिशतले बढेको छ । कमिसन आम्दानी २२.२२ प्रतिशतले घटेको छ । कुल सञ्चालन आम्दानी २.२२ प्रतिशत तथा सञ्चालन नाफा १९.५० प्रतिशतले बढेको पाइएकाे छ।

बैंकको प्रतिसेयर आम्दानी १८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा भएको छ। मूल्य आम्दानी रेसियाे १८.१६ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ भने १४३.२१ रूपैयाँ रहेको छ।

बैंकको चुक्ता पूँजी १७.५८ प्रतिशतले, जगेडा कोषमा २१.०१ प्रतिशतले, निक्षेपमा २०.४३ प्रतिशतले र कर्जामा १९.१८ प्रतिशत ले बृद्धि भएकाे छ।