विद्यार्थी र अभिभावकको पहिलो रोजाइ: पोखराको एनटिएचएमसी

-



     सफल आवाज    
     श्रावण २२ गते २०७९ मा प्रकाशित



पाेखरा, २२ साउन । पोखराको छिनेडाँडामा रहेको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज हो । विद्यार्थीको पहिलो रोजाइमा पर्ने भएकाले अहिले यो कलेजमा देशभरका विभिन्न जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् ।

नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेजका रुपमा स्थापना भएको एनटिएचएमसीले सन् १९९९ देखि ब्याचलर इन होटल म्यानेजमेन्ट तथा सन् २००१ देखि प्लस २ मा होटल म्यानेजमेन्टको पढाइ शुरु गरेको हो । यसैगरी कलेजले सन् २००४ देखि ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) र २००९ देखि ब्याचलर इन ब्याङ्किङ एण्ड इन्स्योरेन्स (बीबीए -बिआइ) विषय अध्यापन गराउँदै आएको प्रिन्सिपल प्रकाश रेग्मीले बताएका छन ।

होटल म्यानेजमेन्ट तथा बिजनेस म्यानेजमेन्ट कलेजका रुपमा कहलाएको यो कलेजमा देशभित्रका मात्र नभई प्रत्येक वर्ष भारत, बंगलादेश, भुटान, श्रीलंकाबाट पनि विद्यार्थीको चासो बढिरहेको रेग्मी बताउँछन् । तर केही नियम र सुरक्षाको अवस्थालाई समेत मध्यनजर गरेर हाल विदेशी विद्यार्थी भर्ना लिन नसकेको उनको भनाइ छ ।

सीमित विद्यार्थी सङ्ख्या

शिक्षाको गुणस्तर कायम राख्न कलेजले प्रत्येक विषय र तहमा निश्चित सङ्ख्यामा मात्र विद्यार्थी भर्ना लिने गरेको छ । प्रिन्सिपल रेग्मीका अनुसार कलेजले प्रत्येक वर्ष ११ कक्षाको होटल म्यानेजमेन्टमा १०० जना, बीएचएममा ९६ जना विद्यार्थी भर्ना लिने गरेको छ । यस्तै बीबीए बीआईमा र बीबीएमा ४८-४८ जनालाई मात्र अध्यापन गराउँदै आएको छ ।

देशभरका विभिन्न जिल्ला र छिमेकी राष्ट्रका विद्यार्थीले चासो देखाएको यो कलेजमा व्यवस्थापनले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिमार्फत पनि विभिन्न श्रेणी तथा विषयको गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ । कलेजले ११ कक्षाको होटल म्यानेजमेन्टका १०० मध्ये ६ जना, बीएचएममा ९६ मध्ये १० जना, बीबीएबीआई र बीबीएका ४८–४८ जनामध्ये ५–५ जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउँदै आएको छ ।

दैनिक प्राक्टिकल

विद्यार्थीहरुलाई सैद्धान्तिकका साथसाथैै व्यवहारिक ज्ञान दिनुपर्छ भन्ने अवधारणा बोकेको यस कलेजले प्लस २ मा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई दैनिक रुपमा फ्रण्ट अफिस, किचन, बेकरी, हाउसकीपिङ तथा कम्प्युटरसँग सम्बन्धित प्राक्टिकल अर्थात् व्यवहारिक कक्षा सञ्चालन गर्ने गरेको प्रिन्सिपल रेग्मीले जानकारी दिए ।

अतिरिक्त क्रियाकलाप

कलेजले अतिरिक्त क्रियाकलापका रुपमा बारिस्टा तालिम, वाइन टेस्टिङ, फूड कम्पिटिशन, फूड मेला, स्पोर्ट्स कम्पिटिशन, आइडिया पिचिङ कम्पिटिशन लगायतका क्रियाकलापहरु विद्यार्थीहरु माझ गराउँदै आएको कलेजका अध्यक्ष अशोक पालिखेले बताए ।

यीमध्ये केही अध्ययनका विषयहरुसँग सम्बन्धित रहेका छन् भने केही व्यक्तिगत विकाससँग सम्बद्ध छन् । यसैगरी कलेजमा खोलिएका विद्यार्थी क्लबहरुले समय समयमा विविध बौद्धिक तथा सामाजिक कार्यहरु गर्ने गरेका छन् । यसबाट विद्यार्थीहरुमा किताबी ज्ञानबाहेक बाहिरी दुनियाँमा भिजेर अतिरिक्त ज्ञान बटुल्न सहयोग पुग्ने पालिखे बताउँछन् । कलेजले हरेक ३-३ महिनामा बुलेटिन तथा वार्षिक रुपमा सोभेनियर समेत प्रकाशित गर्दैै आइरहेको छ ।

उच्च प्लेसमेन्ट

यस कलेजबाट विभिन्न विषयमा विभिन्न तह पास गरेर गएका विद्यार्थीहरु कोही पनि बेरोजगार बस्नु नपरेको प्रिन्सिपल रेग्मीको दावी छ । कलेजबाट बिएचएम अध्ययन गरेका बिधार्थीहरुले विभिन्न तारे होटलहरुमा इन्टर्नशिप गर्न पाउछन् भने कतिपयले सोही होटेलमा राेजगारी समेत पाइरहेका छन् । त्यस्तै कलेजले बिबिए र बिबिए-बिआईका विद्यार्थीहरुलाई पहिलो सेमेस्टरदेखि नै विभिन्न बैंक, वित्तीय संस्था तथा इन्स्योरेन्स कम्पनीहरुमा इन्टर्नशिपका लागि पठाउने गरेको छ । यसरी इन्टर्नशिप गर्न गएका कतिपय विद्यार्थीले त सोही संस्थामा रोजगारी पनि पाएका छन् ।

यहाँबाट पास भएकामध्ये हालसम्म थुप्रै विद्यार्थी विश्वका विभिन्न ४८ देशमा उच्च शिक्षा तथा रोजगारीका लागि गएको कलेजको तथ्याङ्कले देखाउछ । स्थापना कालदेखि नै अब्बल नतिजा ल्याउन सफल यो कलेज इयूएचओएफए इन्टरनेशनलको अन्तरराष्ट्रिय सदस्यसमेत रहेको छ भने यसले स्वदेशमा मात्र नभई विदेशका विभिन्न १० देशका पाँचतारे होटल तथा रिसोर्टहरुमा स:शुल्क इन्टर्नशीपका लागि पनि विद्यार्थी पठाउँदै आएको छ ।

कस्ता छन् सुविधा ?

कलेजका अनुसार गुणस्तरीय तथा सबैको रोजाइमा परेको यो कलेजले निशुल्क यातायात सुविधा उपलब्ध गराउँदै आएको छ । कलेजले ७ वटा बसमार्फत उत्तरमा लामाचौर, पश्चिममा बिरौटा र पूर्वमा पावर हाउससम्म साथै पोखरा सहरका विभिन्न चोकबाट विद्यार्थीहरु ल्याउने गरेको छ । यसबाहेक विद्यार्थीलाई कलेजमै नि:शुल्क लन्चको व्यवस्था पनि गरिएको छ ।

यसका अतिरिक्त कलेजले निशुल्क चिनियाँ भाषा कक्षा, विदेशी विज्ञहरुबाट विशेष तालिम, प्रेरणादायी कक्षाहरु (मोटिभेसनल सेसन) तथा कक्षा विभिन्न क्षेत्रका अतिथि शिक्षकहरुको पनि व्यवस्था गर्दै आएकोले अभिभावक तथा विद्यार्थीहरुको पहिलो रोजाइमा पर्दै आएको छ ।

सबैको पहिलो रोजाइमा परेको एनटीएचएमसीमा भर्नाका लागि पनि निश्चित प्रक्रिया रहेको छ । यसका लागि शुरुमा कलेजको भर्ना फाराम भरेर लिखित परीक्षा दिनुपर्छ । लिखित परीक्षामा पास भएपछि विद्यार्थी र अभिभावक दुवैको अन्तरवार्ता लिइन्छ । अन्तरवार्तामा छनौट भएको खण्डमा मेरिट लिस्ट अनुसार भर्ना हुन पाइने प्रिन्सिपल रेग्मीले जानकारी दिएका छन । कलेजले कक्षा ११ का लागी यही साउन २४ गते मंगलबार इन्ट्रान्स परिक्षाकाे मिति ताेकेकाे छ ।