
म्याग्दी, १३ साउन । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८/७९ मा दुई करोड रुपैयाँ हाराहारी अनुदान वितरण गरेको छ । केन्द्रले विभिन्न कार्यक्रम मार्फत ४ सय ३२ कृषक, फार्म, समूह र सहकारीलाई १ करोड ७९ लाख अनुदान वितरण गरेको हो ।
केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यका अनुसार दूध, मासु, अण्डा उत्पादन वृद्धि, नश्ल सुधार, पशु बीमा, आहारा, पूर्वाधार निर्माणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको हो । “प्रदेश र सङ्घीय सरकारबाट चार करोड पाँच लाख ८० हजार बजेट विनियोजन भएको थियो”, उनले भने, “ तीन करोड ५९ लाख ३६ हजार ३९२ खर्च भएको छ ।”
कार्यक्रम अन्तर्गत बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेर सञ्चालन भएको बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रमबाट ४३ कृषकलाई बाख्राको खोर निर्माण, मासु पसल सुधार, घाँस काट्ने यन्त्र उपकरण, नश्ल सुधारका लागि बोका र औषधि खरिदका लागि ३४ लाख १ हजार उपलब्ध गराइएको छ ।
५२ लाख ५० हजार बजेट विनियोजन भएको साना पशुपंक्षी तथा मत्स्य व्यावसायिक फार्म स्थापना तथा विस्तार कार्यक्रमका लागि छनौट भएका ४० मध्ये ३८ फार्मले ४९ लाख ८७ हजार ५०० अनुदान पाएका छन् । यसैगरी डेरी, मासु तथा माछा पसल सुधार कार्यक्रमबाट पाँच फार्मले ४ लाख २४ हजार ३ सय ५९ रुपैयाँ पाएका छन् ।
बेनीको दोभान कृषि सहकारी संस्थामा आवद्ध २१ कृषकले १० लाख अनुदान पाएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी गणेश रिजालले बताए । कृत्रिम गर्भाधानबाट जन्मेका २४ वटा पाठा बाच्चा हुर्काए वापत ८ कृषकले दुई लाख ४० हजार अनुदान पाएका छन् ।
यस्तै उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम मार्फत दोभान, बास्कुना र सिमलचौर कृषि सहकारीमा आवद्ध १ सय कृषकले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले १५ लाख ९० हजार अनुदान पाएका छन् । ३१ कृषकलाई फार्म यान्त्रिकरण कार्यक्रम मार्फत च्यापकटर, पानी तताउने सोलार लगायत उपकरण खरिदमा १० लाख अनुदान उपलब्ध गराइएको छ ।
पशुपंक्षी बीमा कार्यक्रम मार्फत २८ हजार २ सय ३४ पशुपंक्षीको बीमा गरेवापत १ सय १० कृषकले १७ लाख ७९ हजार, भैसी पकेट कार्यक्रम मार्फत मंगला–२ सिमलचौरका २५ कृषकले ‘काउम्याट’ खरिद गर्न ७ लाख, अन्नपूर्ण गाउँपालिकाका २३ कृषकले बाख्रा पकेट कार्यक्रमबाट ८ लाख अनुदान पाएका छन् ।
यस्तै अनुवांशिक स्रोत संरक्षण कार्यक्रम मार्फत रघुगंगा–७ चिमखोलामा सिनाल बाख्रा र वडा नम्बर २ भगवतिमा बरुवाल भेडापालक १३-१३ कृषकलाई ५-५ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । साथै अन्नपूर्ण गाउँपालिकाको दुवाडीमा भैँसीको र धवलागिरि गाउँपालिकाको गुर्जामा भेडाको घुम्ती गोठ निर्माण गर्न ५-५ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




