२०६२.८० विन्दुमा झर्यो नेप्से , कारोबार रकम पनि घट्यो

-



     सफल आवाज    
     श्रावण २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ साउन । सेयर बजारको ओरालो लागेको यात्राले आज पनि निरन्तरता पाएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार पूर्ण रुपमा राताम्मै भएको छ ।

कारोबार पनि अघिल्लो दिनको तुलनामा ४ अर्ब कम भएको छ । सेयर बजारमा देखिएको यो स्थिति बिक्रय पक्ष हावि भएकोले यस्तो भएको सेयर बजारका जानकारहरुले बताउने गरेका छन् । बजारकाे यस प्रकारको नकारात्मक प्रभावले लगानीकर्ताहरुको मनोबल घटाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४३.३५ अंकले गिरावट भई २०६२.८० विन्दुमा झरेको छ । नेप्से २.०६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ८.६८ अंकले घटेर ३९७.४३ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२२ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ६६ लाख ४६ हजार ३६ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन यो कारोबार २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँ रहेको थियो ।

१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयरमूल्य घटेको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्सतर्फ १२५.५१ अंकको, नीर्जिवन बीमातर्फ १२३.४४ अंकको, विकास बैंकतर्फ १२२.६९ अंकको, जीवन बीमातर्फ १२२.५१ अंकको तथा हाइड्रोपावरतर्फ ७८.०१ अंकको गिरावट देखिएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नागरिक लगानी काेषकाे कारोबार भएको छ । काेषको १५ करोड १० लाख ९७ हजार ७६६ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ । यसअघि लगातार शिवम् सिमेन्टले काराेबारकाे अग्रता कायम गर्दै आएको थियो

हिमालयन हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर २ सय ७५ रूपैयाँ ८० पैसा पुगेकाे छ । उता गणपति लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्य ७.२७ प्रतिशतले घटेर ९ सय ६९ रूपैयाँमा झरेकाे छ ।