आईओसीबाट तेस्रो पटक घटेर आयो इन्धनको मूल्य, नेपालमा घट्ला?

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ साउन । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट फेरि पेट्रोलियम पदार्थको घटेको मूल्य सूची आयल निगमलाई प्राप्त भएको छ ।

नयाँ आएको सूचीअनुसार अनुसार पेट्रोलमा प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले स्रोतले जनाएको छ । हवाई इन्धनको मूल्य पनि लिटरमा ५ रुपैयाँले सस्तो भएको छ । यसअघि दुई पटक डिजेल/पेट्रोलको मूल्य उल्लेख्य घटेर आएको थियो ।

तेस्रो पटकको सूचीमा भने अघिल्ला दुई पटकका तुलनामा प्रतिलटर थोरै रकम मात्र घटेको छ। यसअघिका मूल्यसूची आउँदा निगमले आईओसीलाई तिर्न बाँकी बक्यौता शून्यमा नआई निगमले पेट्रोलियम पदार्थको मूल्य नघट्ने सूचना जारी गरेको थियो । यो नयाँ सूची अनुसार मासिक घाटा ६४ करोडमा झर्ने निगम स्रोतको भनाइ छ ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार आईओसीबाट यसपटक थोरै रकम घटेर आएको र त्यसले निगमको घाटा केही घटाए पनि शून्यमा भने नआउने भएको छ । पेट्रोलियम पदार्थको भाउ घट्ने वा नघट्ने बारे तत्काल निश्चित नभइसकेको बताउँदै उनले भने, ‘भारतबाट आएको मूल्यसूची तथा निगमको समग्र आर्थिक अवस्थाबारे आज साँझ ५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ । भाउ घट्ने वा नघट्ने बारे सम्मेलनमार्फत् नै जानकारी गराइने सम्भावना छ ।’