अवैध मोबाइल भदौ ३० देखि नचल्ने: एमडीएमएस प्रणाली शुरु गर्दै दूरसञ्चार प्राधिकरण

-



     सफल आवाज    
     भाद्र १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ भदौ । दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले आगामी भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रूपमा शुरु गर्ने भएको छ । यसका बारेमा हालै प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टर्स एसोसियसनको संयुक्त आयोजनामा भएको मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) सम्बन्धी कार्यशालामा जानकारी दिइएको हो ।

कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले भदौ ३० गतेबाट एमडीएमएस सिस्टम लागू गर्ने प्रतिबद्धता जनाए । यसअघि एमडीएमएस सेवा लागू गर्ने घोषणा थुप्रैपटक भए पनि विभिन्न कारण देखाउँदै पटक पटक मिति सर्दै आएको छ ।

प्राधिकरणले २०७६ फागुनमै एमडएएमएसका लागि एलसी खोलेको थियो भने त्यसलगत्तै मार्च अर्थात् चैतको आधाआधीबाट यो प्रणाली सञ्चालनमा ल्याउने बताएको थियो । तर पटक पटक भाखा सार्दै अब भने भदौ ३० मा औपचारिक शुरुवात गर्ने बुझिएको हो । यसो हुन सकेको खण्डमा उक्त मितिदेखि विदेशबाट आउने र नेपालमा आईएमईआई दर्ता नभएका मोबाइल फोनहरु चल्ने छैनन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले देशको नियम र कानून भित्र रहेर सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरी जतिसक्दो चाँडो एमडीएमएस लागू गर्नुपर्नेमा जोड दिए ।

यसैगरी मोबाइल फोन इम्पोर्टर्स एसोसियसनका अध्यक्ष दिपक कुमार मलहोत्राले पछिल्लो समय सरकारले विलासिताको वस्तुको रुपमा वर्गीकरण गरेर मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोमा दु:ख व्यक्त गरे। उनले गैरकानुनी रुपमा भित्रिने फोनहरु मध्ये चोरीका तथा रिफर्बिस गरिएका समेत हुने हुँदा उपभोक्ताहरु ठगीमा पर्ने र राजस्व घट्ने बताए ।

यसबाट मोबाइल व्यवसायीको व्यापार पनि खस्कँदै गएर कर्मचारी कटौतीसम्मको अवस्था आउनसक्ने र यसले बेरोजगारी समस्या अझ बढाउने चेतावनी दिए ।

के हो एमडीएमएस प्रणाली?

एमडीएमएसको पूरा रुप मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम हो । यसले विदेशबाट न्पाल भित्रिने मोबाइल उपकरणहरुको लगत राख्ने तथा व्यवस्थापन गर्ने काम गर्छ । विशेष गरी अनधिकृत रुपमा गैरकानुनी तरिकाले भित्रिएका मोबाइल डिभाइसहरुरलाई नियन्त्रण गर्नका लागि यो प्रणाली सञ्चालनमा ल्याइन लागेको हो ।

यो प्रणालीले राज्यलाई कर तिरेर भित्रिएका मोबाइल डिभाइसहरुको आईएमईआई दर्ता गर्ने र यसरी दर्ता भएका मोबाइल फोनहरुमा मात्र उपलब्ध सिम कार्डहरुले काम गर्ने बनाउँछ । यस हिसाबले भन्सारर छलेर चोर बाटोबाट भित्रिएका मोबाइल डिभाइसहरुलाई नियन्त्रण गर्न सजिलो हुन्छ । यसो गर्दा राज्यले यस्ता अनधिकृत बाटोबाट आएका उपकरणका कारण गुमाउँदै आएको राजस्व पनि प्रणालीबद्ध रुपमा संकलन गर्न सहज हुन्छ ।