
काठमाडौं, २ भदौ । गत आर्थिक वर्ष २०७८/२०७९ को चौथो त्रैमास अर्थात् असार मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको छ । २०७७/७८ को असार मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ रहेको थियो ।
हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको समग्र वित्तीय विवरणमा यो तथ्याङ्क समावेश गरिएको छ । यो आँकडा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८९ प्रतिशतले बढी हो ।
विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आर्थिक वर्ष २०७८/७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप पर्न गएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

तर बैंकका अनुसार गत आर्थिक वर्षको शुरुवाती महिनाहरुमा मुद्रास्फीति केही कम भएका कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा सीमित रहन सफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ यस्तो मुद्रास्फीति ३.६० प्रतिशत रहेको विवरणमा उल्लेख छ ।
गत आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत रहेको पाइएको छ ।
साथै गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः १५.८२ प्रतिशत, ८.७८ प्रतिशत, ७.०९ प्रतिशत र ६.६८ प्रतिशत रहेको विवरणले देखाएको छ ।

खाद्य तथा पेय पदार्थ मुद्रास्फीति
गत आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा उक्त समूहको मुद्रास्फीति ५.०० प्रतिशत रहेको थियो । २०७९ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत मुद्रास्फीति भने ६.८९ प्रतिशत रहेको छ । बैंकका अनुसार २०७८ असार महिनासम्म यस्तो मुद्रास्फीति ५.८१ प्रतिशत रहेको थियो ।
गैर–खाद्य तथा सेवा मुद्रास्फीति
आर्थिक वर्ष २०७८/७९ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति २.५१ प्रतिशत रहेको थियो । २०७९ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत मुद्रास्फीति ९.०३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को असार महिनासम्म यस्तो मुद्रास्फीति २.९४ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




