कुल वस्तु निर्यातमा वार्षिक २.७ प्रतिशतको गिरावट

-



     सफल आवाज    
     भाद्र २ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ भदौ । गत आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु निर्यात अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा २.७ प्रतिशतले  घटेको छ । अघिल्लो आर्थिक वर्षमा कुल निर्यात ४४.४ प्रतिशतले वृद्धि भएकामा गत आर्थिक वर्षभरी ४१.७ प्रतिशतले वृद्धि भएर २०० अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यो तथ्याङ्क हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७९ को असार मसान्तसम्मको प्रतिवेदनमा उल्लेख छ ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५.९ प्रतिशत र ३०.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २०.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, ऊनी गलैंचा, धागो (पोलिष्टर तथा अन्य), जिंक शीट, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, अलैंची, चिया, औषधी (आयुर्वेदिक), तार लगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा वर्षमा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भएर १९२० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको विवरणमा उल्लेख छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३.५ प्रतिशत, १३.२ प्रतिशत र ३६.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पञ्ज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.बिलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरण लगायतका वस्तुको आयात घटेको पाइएको छ ।

केन्द्रीय बैंकका अनुसार निर्याततर्फ कन्चनपुर भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात समीक्षा वर्षमा वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।