धौलागिरी लघुवित्तकाे सेयर बाँडफाँड साेमबार

-



     सफल आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ भदाै । धौलागिरी लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएकाे सेयर साेमबार बाँडफाँड गरिने संस्थाले जानकारी दिएकाे छ।

कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म २ कराेड १७ लाख बढीकाे सेयर निष्काशन गरेको थियाे । साे सेयर कमलपाेखरीस्थित बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालयमा बाँडफाँड गरिने बताइएकाे छ।

धौलागिरी लघुवित्तको सेयरमा १९ लाख ५२ हजार ४६० जनाले २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरकाे लागि आवेदन दिएका थिए । जाे सर्वसाधारणका लागि निष्काशन गरिएकाे ३ लाख ८ हजार २९५ कित्ता सेयरकाे ७०.४५ गुणा बढी हाे ।

जारि पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशतले हुन आउने ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्काशन गरिएकाे थियाे ।

५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि रहेकाे ५ भने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । बाँकी रहेकाे ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ ।

सेयरमा मागभन्दा बढी आवेदन परेकोले १० कित्ताको दरले सेयर बाँडफाँड हुनेछ । ३० हजार ८२९ जनाले सेयर हात पार्नेछन् भने बाँकीकाे हात खालि हुनेछ ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाकाे चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेकाे छ । सेयर बाँडफाँडपछि चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्ने भएकाे छ ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले आजै प्रिअलटमेन्ट सकेर साेमबार सेयर बाँडफाँड गर्ने बताएका छन् ।