महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम

-



     सफल आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ भदौ । नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससँगै वस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको हो । करिब १ साता चलेको डिजिटल मार्केटिङको तालिममा ३४ जना महिला एवं युवतीहरुले सहभागिता जनाएका थिए ।

तालिमको समापन अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलाहरुलाई मुलुकको आर्थिक क्रियाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताइन् । चेम्बर महिलाले विभिन्न क्षेत्रमा तालिम आयोजना गर्दै आइरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनको भनाइ थियो ।

‘सूचना प्रविधिमा महिला’ संस्थाकी अध्यक्ष गुणकेशरी प्रधानले महिलाहरुको सशक्तीकरणका लागि नेपाल महिला चेम्बरसँग सहकार्य गरिएको जानकारी दिइन् । महिला उद्यमशीलता विकास गर्न भन्दै चेम्बरले यसअघि फोटोग्राफी, मैनवत्ती बनाउने तथा बेकरी तालिम आयोजना गरिसकेको छ ।

कार्यक्रममा नेपाल महिला चेम्बरकी महासचिव लीमा अधिकारीले आर्थिक रुपमा सम्पन्न नभएसम्म महिलाहरुको अधिकार सुनिश्चित नहुने बताइन् ।