चालु आवको पहिलो महिना व्यापार घाटा १० प्रतिशतले घट्यो

-



     सफल आवाज    
     भाद्र ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ भदौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात श्रावणमा व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.३८ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को साउन समग्र व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड रहेकामा १ वर्षको अनतरालमा यो साउनमा आइपुग्दा उक्त आँकडा १ खर्ब १६ अर्ब ४७ करोडमा झरेको हो । हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन महिनाको वैदेशिक व्यापार तथ्याङ्कले यो प्रवृत्ति देखाएको छ ।

यसबाहेक यो महिना आयात र निर्यात दुवै घटेका छन् । विवरण अनुसार आयात १२.९० प्रतिहतले तथा निर्यात २९.६८ प्रतिशतले घटेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको साउन महिनामा १ खर्ब ५० करोड ७३ लाख बराबरको आयात भएकामा चालु आर्थिक वर्षको साउनमा घटेर १ खर्ब ३१ करोड २८ लाख रुपैयाँमा झरेको छ । सरकारले व्यापार घाटा समायोजन तथा विदेशी मुद्रा सञ्चितिका लागि विलासी वस्तुहरुको आयातमा प्रतिबन्ध लगाइरहेका कारण आयात घटेको हुन सक्ने आकलन गरिएको छ ।

यसैगरी निर्यात पनि यो महिनामा जम्मा १४ अर्ब ८० करोडको मात्र भएको छ जबकि यो आँकडा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ७६ करोड बराबर रहेको थियो ।

यो अवधिमा समग्र वैदेशिक व्यापारमा पनि १४.८१ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा कुल १ खर्ब ७१ अर्ब ४९ करोड बराबरको वैदेशिक व्यापार भएकामा यो साउनमा उक्त आँकडा १ खर्ब ४६ अर्ब ९ करोडमा झरेको छ।

यो अवधिमा आयात निर्यात अनुपात २२.१२ प्रतिशतले बढेको छ भने समग्र व्यापारमा निर्यातको हिस्सा १६.२८ प्रतिशतले घटेको तथा आयातको हिस्सा भने २.२४ प्रतिशतले बढेको विवरणमा उल्लेख छ ।