एक महिनामा साढे २ अर्बको स्मार्टफोन आयात

-



     सफल आवाज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ भदौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात् साउनमा नेपालमा २ अर्ब ५७ करोड बराबरका स्मार्टफोन आयात भएका छन् ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवको साउनसम्मको तथ्यांकअनुसार उक्त रकम बराबरका १ लाख ७६ हजारभन्दा बढी स्मार्टफोन आयात भएका छन् । यसरी आयात गरिएका मोबाइल मार्फत सरकारले करोड ७७ हजार रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ ।

यो महिनाभरी नेपालमा विश्वका जम्मा ३६ देशबाट विभिन्न परिमाणमा स्मार्टफोन आयात भएको देखिएको छ । तीमध्ये सबैभन्दा बढी चीनबाट १ लाख ३६ हजार ४१८ थान तथा भारतबाट ३८ हजार २५५ थान स्मार्टफोन आएका छन् ।

यसैगरी भियतनामबाट ७ सय, यूएईबाट १९५ तथा अमेरिकाबाट १११ थान आयात भएका छन् । यस्तै जापानबाट २६६, दक्षिण कोरियाबाट ६९, कतारबाट ३१, बेलायतबाट १८, हङकङबाट ३९ तथा साउदी अरेबियाबाट १६ थान भित्रिएका विवरणमा उल्लेख छ ।

सरकारले भदौ १४ गतेसम्मका लागि आयात प्रतिबन्ध लगाएका सामग्रीमा पछिल्लो पटक मोबाइल र कार पनि थपिएको र उक्त सूची अनुसार ३ हजार डलरमाथिका मोबाइल फोन आयात रोकिएको छ । यस हिसाबले माथि उल्लिखित तथ्याङ्क ३ हजार डलरभन्दा कम मूल्यमा स्मार्टफोन भएको आकलन गर्न सकिन्छ ।

यीबाहेक पनि अन्य थुप्रै देशबाट १ देखि ११ थानसम्म स्मार्टफोन आयात भएको तथ्याङ्कले देखाएको छ । समग्रमा हेर्दा ठूलो परिमाणमा आएका मोबाइल सेटहरु बिक्री प्रयोजनका लागि तथा फुटकर सेटहरु व्यक्तिगत प्रयोजनका लागि आएका देखिन्छन् । यो तथ्याङ्कमा फिचर फोन अर्थात् बार फोनको सङ्ख्या समावेश गरिएको छैन ।