२०२५ देखि नेपाल वर्षैभरी बिजुली निर्यात गर्ने देश बन्नेछ: मन्त्री भुसाल

-



     सफल आवाज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २०२५ देखि नेपाल वर्षभरि नै जलविद्युत् निर्यात गर्ने मुलुक बन्ने दावी गरेकी छिन् ।

मन्त्री भुसालले ‘कोप–२७’ तयारीका लागि थाइल्याण्डको बैंककमा आज आयोजित ‘जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य प्राप्तिको प्रयासमा लगानी परिचालनसम्बन्धी मञ्च’ बैठकको ‘हरित ऊर्जाका लागि जलवायु वित्त लगानी’ विषयक सत्रमा भर्चुअल सम्बोधन गर्दै यस्तो विचार व्यक्त गरेकी हुन् ।

यसबाहेक सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भुसालले जलवायु वित्तको जोहो गरेर ‘हरित ऊर्जा’का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसर पहिल्याउनुपर्ने बताएकी छिन् । ‘स्वच्छ ऊर्जाको प्रवद्र्धनमा विश्व केन्द्रित हुनुपर्छ, त्यसका लागि सामूहिकरूपमा जलवायु वित्तको जोहो गर्न आवश्यक छ’, उनले भनिन् ।

खपत गरेर बाँकी भएको ऊर्जा ‘हरित हाइड्रोजन’ उत्पादनमा प्रयोग गर्ने तयारी गरिएको बताउँदै मन्त्री भुसालले ग्रीन हाइड्रोजनका लागि उपयुक्त पहल गरिरहेको पनि जानकारी दिइन् । यसबाहेका उनले विशिष्ट भौगोलिक बनोट र जलवायु–संवेदनशील जीवन शैलीका कारण नेपाल जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको पनि उल्लेख गरिन् ।

मन्त्री भुसालले अतिकम विकसित मुलुक भएर पनि नेपालले ‘१.५ डिग्री तामक्रम’को लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै विश्वका मुलुकले कार्बन उत्सर्जन न्यूनीकरणका लागि महत्वकांक्षी लक्ष्य लिएर काम गर्नुपर्ने बेला आएको बताइन् ।

ग्रीन ग्रीड अवधारणाअनुसार कोप–२६ मा ‘एक सूर्य, एक विश्व र एक ग्रीड’ को सुरुआत गरिएको उल्लेख गर्दै उनले हरित ऊर्जासम्बन्धी विश्व अवधारणा पूरा गर्नका लागि नेपालजस्ता देशमा प्रसारण लाइनको निर्माण तथा पूर्वाधार विकासको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

नेपालमा अधिक मात्रामा नवीकरणीय ऊर्जा जलविद्युत्मा प्रयोग हुँदै आएको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘सौर्य ऊर्जा उत्पादनका लागि पनि नेपालमा पर्याप्त सम्भावना छ ।’

आफ्नो देशले शून्य कार्बन उत्सर्जनको रणनीति लिएको जानकारी गराउँदै मन्त्री भुसालले  नेपालले सन् २०४५ मा शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने लक्ष्य लिएको र स्वच्छ ऊर्जाको व्यापार गरेर नेपालमा मात्र नभई देश बाहिर पनि कार्बन उत्सर्जनलाई न्यूनीकरणमा योगदान गर्न चाहेको विचार व्यक्त गरिन् ।

स्वच्छ ऊर्जा प्रयोग गर्न सुरु गरिसकेको बताउँदै मन्त्री भुसालले पछिल्लो दशकमा विद्युत् पहुँचलाई व्यापक विस्तार गरेको र ९५ प्रतिशत जनतालाई राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुर्याएको साथै आगामी सन् २०२४ सम्ममा देशभर स्वच्छ ऊर्जा विद्युत् पुर्याउने लक्ष्य लिएको स्मरण गराइन् ।