नाइजेरियामा ५७ जना आतङ्ककारी मारिए

-



     सफल आवाज    
     भाद्र १० गते २०७९ मा प्रकाशित



नाइजेरिया, १० भदौ । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्धको कारबाहीमा कम्तीमा ५७ जना अतिवादी हतियारधारी मारिएका छन् । गएको दुई हप्तायता सो क्षेत्रमा यहाँको सेनाले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका स्थानीय समाचारमा जनाइएको छ ।

नाइजेरियाका दुई उत्तरपूर्वी प्रान्त बोर्नो र योबेमा सो कारबाही गरिएको र सेनाले यी दुई प्रान्तमा हवाई तथा स्थलगत कारबाही गरेको नाइजेरियाको सेनाका प्रवक्ता मुसा दनमादानीले जानकारी दिएका हुन् ।

उक्त कारबाही यही अगष्ट २५ सम्म गरिएको र त्यस क्रममा बोको हरामका ५७ जना लडाका मारिएका हुन् । उनीहरुले बोर्नो र युबे प्रान्तमा हिंसा गराएकाले नाइजेरियाली सेनाले उक्त कारबाहीको प्रक्रिया थालेको थियो ।

त्यस कारबाहीका क्रममा यहाँका १ हजार ६ सयभन्दा बढी बोको हरामका व्यक्तिले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण पनि गरेका थिए । उनीहरुले हातहतियारसहित आत्मसमर्पण गरेका बताइएको छ । नाइजेरियाको बोर्नो प्रान्तमा बोको हरामका लडाकाहरुको प्रभाव रहेको मानिन्छ ।