विदेशी विनिमय सञ्चितिमा सुधार, आयात प्रतिबन्ध अझ लम्बिँदै

-



     सफल आवाज    
     भाद्र १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० भदौ । आगामी भदौ १४ गतेसम्मका लागि आयात प्रतिबन्ध लागेका १० विलासी वस्तुको प्रतिबन्धले अझै निरन्तरता पाउने भएको छ ।

प्रतिबन्धको समीक्षा गर्न शुक्रबार मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले थप केही समयका लागि आयात प्रतिबन्धलाई कायम राख्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । तर कति समयसम्मका लागि प्रतिबन्धले निरन्तरता पाउने भन्ने तय भएको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्च आयातका कारण विदेशी विनिमय सञ्चितिमा ह्रास आएको भन्दै गत वैशाखमा १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

यो प्रतिबन्ध शुरुमा गत आर्थिक वर्षको अन्तिम दिनसम्म लगाइएकामा मन्त्रालयले पछि लम्ब्याएर भदौ १४ सम्मका लागि लागू हुने निर्णय गरेको थियो । प्रतिबन्ध लम्ब्याउने बेला प्रतिबन्धित सूचीमा केही वस्तुहरु थपघट सहित संशोधन पनि गरेको थियो ।

सरकारले विलासी वस्तुमा आयात प्रतिबन्ध लगाएपछिको २ महिनामा विदेशी विनिमय सञ्चितिमा उल्लेख्य सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार गत वैशाखमा ९ अर्ब २८ करोड डलर सञ्चित रहेकामा प्रतिबन्धको समय असार मसान्तसम्म यो रकम बढेर ९ अर्ब ५४ करोड पुगेको छ ।

यो प्रतिबन्ध अझ कायम गर्नुपर्नेमा चालु आर्थिक वर्षको पहिलो महिनामा आयात घटेको तथ्याङ्क पनि हो । उक्त महिनामा गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा १० प्रतिशतले घटेको थियो ।