
मोरङ, १४ भदौ । सुनवर्षी-१ मोरङका गणेश राईले ड्रागनफ्रुट खेतीबाट वार्षिक १ करोड रुपैयाँ आम्दानी गरिरहेका छन् । गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् उनी ।
लकडाउनअघिसम्म निर्माण व्यवसाय गरिरहेका उनी लकडाउनले उक्त पेशालाई असर गरेपछि ड्रागनफ्रुट खेतीमा लागेका हुन् । तर उनलाई अहिले यसमै भ्याइ–नभ्याइ भएको छ । यसबाट वार्षिक १ करोड रुपैयाँसम्म आम्दानी गरेको उनी सुनाउँछन् ।
राईले दुई वर्षअघि ठूलो चुनौती मोलेर १ करोड लगानीमा फार्म सञ्चालनमा ल्याएका हुन् । विसं २०७७ मा तुर्छा ड्रागनफ्रुट तथा बहुउद्देश्यीय कृषि फार्ममार्फत ड्रागनफ्रुट खेती सुरु गरेका उनले एक वर्षमै बिरुवा बेचेर लगानीसमेत उठाइसकेका छन् ।
तीन महिनासम्म १५–२० कामदार लगाएर रोपेको तीन हजार दुई सय पोल ड्रागनफ्रुटले यतिखेर राम्रै उत्पादन दिएको छ । राईको फार्ममा सायमा रेड सी प्रजाति ९रातो फल०को ड्रागनफ्रुट लटरम्मै फलेको छ ।
दुई वर्ष अगाडि सुरु गरिएको व्यवसायले यति छिटो आम्दानी देला भन्ने उनले सोचेका पनि थिएनन् । राईले आफ्नै तीन बिघा क्षेत्रफलमा एक करोडभन्दा बढीको लगानी गरेका छन् । उक्त ड्रागनखेतीले दोस्रो वर्षदेखि आम्दानी दिन सुरु गरेको थियो । एक पोलबाट वार्षिक एक सय ५० केजी फल फल्ने राईको भनाइ छ ।
स्वादिलो तथा पोषिलो यो फलको यतिबेला बजारममा राम्रै माग छ । वार्षिक ठूलो सङ्ख्यामा बाहिरबाट आयात हुने ड्रागनफ्रुट नेपालका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुन थालेको छ । राईले यो याममा मात्र ११ हजार केजी फल र २८ हजार बिरुवा बेचेका छन् । बजारमा ड्रागनफ्रुटको प्रतिकेजी ७ सय ५० रुपैयाँ पर्छ भने बिरुवाको २ सय ५० पर्ने गरेको छ ।
दैनिक ६ जना कामदारसँगै बारीमा ड्रागनफ्रुटको खेतीमा व्यस्त राईले एकै याममा १५–१६ पटक फल दिने गरेको र अझै ५ हजार केजी फल बेच्ने आशा लिएको बताए ।
किसानले यो खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा गर्दै आएका छन् । एकपटक लगानी गर्दा कम्तीमा २५ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको छ ।
ड्रागनफ्रुटसँगै भित्रभित्र बुटेखेती गर्न सकिने भएकाले नगदे बालीले समेत स्थान पाएको छ । सानो क्षेत्रफलमा थोरै लगानीबाट पनि यो व्यावसायिक खेती गर्न सकिने भएकाले सहरबजारका मानिसले समेत कौशी र करेसाबारीमा यो फल रोप्दै आएका छन् ।
कृषकको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि हुने देखिएको छ । सरकारले ड्रागनफ्रुट खेतीमा युवालाई आकर्षण गर्न सके आफ्नै देशमा व्यवसाय र रोजगार बढ्ने तथा युवा विदेशिनुपर्ने समस्या घट्ने देखिन्छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




