प्रिपेड डलर कार्डमार्फत् हुने भुक्तानीमा राष्ट्र बैंकको थप अंकुश

-



     सफल आवाज    
     भाद्र १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ भदौ । नेपाल राष्ट्र बैंकले विभिन्न १८ वस्तु तथा सेवाको खरिदमा हुने भुक्तानीलाई डलर कार्ड प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ ।

बैंकले आज एक परिपत्र जारी गरी क वर्गका वाणिज्य बैंक तथा ख वर्गका राष्ट्रिय स्तरका बैंकका प्रिपेड डलर कार्डमार्फत् विभिन्न मर्चेन्ट क्याटेगरी कोड (एमसीसी) भएका १८ वटा वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न नपाइने निर्देशन दिएको हो ।

राष्ट्र बैंकले प्रिपेड कार्डमार्फत् भुक्तानी गर्न नपाइने सेवामा मनी अर्डर (वायर ट्रान्सफर), बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी (म्यानुअल क्यास डिस्बर्समेन्ट), धितोपत्र दलाल र डिलर्स, बीमा बिक्री, अन्डराइटिङ तथा प्रिमियम, रियल इस्टेट एजेन्ट तथा म्यानेजर, वाणिज्य बैंकहरुलाई हुने भुक्तानी, स्टोरहरुको कार्ड खरिद तथा लोडिङ, विविध सेवा तथा वस्तु (अति जोखिम खालका), बेटिङ (क्यासिनो, घोडा तथा कुकुर दौड, सबै प्रकारका जुवा) कुनै पनि प्रकारका राजनीतिक दल तथा धार्मिक संगठन लगायतका रहेका छन् ।