नेप्सेमा दोहोरो अंकको गिरावट, नेपाल टेलिकमको कारोबार अब्बल

-



     सफल आवाज    
     भाद्र १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ भदौ । सेयर बजारको दुई दिनको सुखद् यात्रापछि आज तेश्रो दिनको यात्रा सुखद् भएन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार राताम्मै भएको छ । सूचकहरुसंगै कारोबार रकम पनि मुस्किलले १ करोड नाघेको छ ।

ठूला ५० ब्रोकरहरुको दवदवा रहेको, ५३ लाख लगानीकर्ताहरुको लगानीमाथि खेलवाड गरिएको, सेबोनले प्रस्ताव गरेको नयाँ ब्रोकर लाइसेन्स सम्बन्धी निर्णय नगरीएको र यसका लागि केही मन्त्री जिमेवार रहेको भन्दै लगानीकर्ताहरु आन्दोलित छन् । उनीहरुले मंगलबार प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै आगामी बिहिबारसम्म माग पूरा गर्न अल्टिमेटमसमेत दिईसकेका छन् ।

मनोबल घटेको, सेयर कर्जाका लागि पर्याप्त रकम अभाव भएको, ठूला लगानीकर्ताबाट चेपुवा परेका जस्ताकारणहरुले सेयर बजार ओरालोको यात्रामा गएको आकलन सहजै गर्न सकिन्छ । यो हिसाबले आगमी बिहिबार अघिसम्म नेप्सेमा सुधार आउने अपेक्षा घटेको छ ।

नेपाल स्टक एक्ससचेन्जका अनुसार नेप्से परिसूचक २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा झरेको छ । नेप्सेमा १.१० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.३६ अंकले घटेर ३८४.५९ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनहरुको २९ लाख ९२ हजार ८७३ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबै १३ वटै उपमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयरमूल्य घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आज पनि नेपाल टेलिकमको कारोबार भएको छ । टेलिकमको १० करोड ७४ लाख ८३ हजार ६२१ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ । यो कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । मंगलबार टेलकमको टेलिकमको ९ करोड ५७ लाख ७२ हजार ५७५ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको थियो ।

हिमालयन एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ५४ रूपैयाँ १० पैसा भएकाे छ । हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ६.८६ प्रतिशतले घटेर ३ सय ३८ रूपैयाँ २० पैसा कायम भएकाे छ ।