राष्ट्र बैंकले फेरि किन्यो आफैंले जारी गरेको डेढ अर्बको ट्रेजरी बिल

-



     सफल आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ भदौ । नेपाल राष्ट्र बैंकले आफैंले जारी गरेको डेढ अर्बभन्दा बढीको ट्रेजरी बिल आफैंले खरिद गरेको छ । केन्द्रीय बैंकले ट्रेजरी बिल आफैंले खरिद गरेको यो छैटौं पटक हो । राष्ट्र बैंकले लगभग ९ प्रतिशत ब्याजदर बोलकबोल गर्ने बैंकलाई मात्रै ट्रेजरी बिल बिक्री गर्ने र त्योभन्दा बढी ब्याजदर प्रस्ताव गरेका बैंकहरुलाई बिक्री नगरी बरु आफैँले खरिद गरेको हो ।

सोमबार ९१ र ३६४ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको बैंकले उक्त परिमाणमध्ये ३६४ दिन अवधिको १ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल आफैंले खरिद गरेको हो । बैंकले ३६४ दिन अवधिको ट्रेजरी बिलमा बढीमा ९.०८ प्रतिशत ब्याजदर प्रस्ताव गरेका बैंकलाई मात्र बिल बिक्री गरेको पाइएको छ ।

राष्ट्र बैंकले बिक्री गरेको ९१ दिन अवधिको ट्रेजरी बिलमा औसत ब्याजदर ९.०५ प्रतिशत कायम भएको छ भने ३६४ दिन अवधिको ट्रेजरी बिलमा ९.०३ प्रतिशत दर कायम भएको बताइएको छ ।

यसअघि पनि केन्द्रीय बैंकले ५ पटकसम्म ट्रेजरी बिल आफैंले खरिद गरेको थियो। बैंकहरुले अत्याधिक धेरै दर पेश गरेको भन्दै बैंकले ट्रेजरी बिल आफैंले खरिद गरेको हो ।

विगतमा पनि बैंकहरुले केन्द्रीय बैंकसँग लिने सापटीको दरभन्दा धेरै दर पेश गरेमा ट्रेजरी बिल आफैले खरिद गर्ने गरेको थियो । यस हिसाबले राष्ट्र बैंकले अन्य बैंकलाई धेरै ब्याज तिर्नुभन्दा आफैंले खरिद गर्दा फाइदा हुने देखेको आकलन गर्न सकिन्छ ।

चालु आर्थिक वर्षको सुरुवातमा ट्रेजरी बिल दर १४ प्रतिशतसम्म पुगेको थियो भने राष्ट्र बैंकले बारम्बार हस्तक्षप गरेपछि अहिले भने उक्त ब्याजदर ९ प्रतिशतको हाराहारीमा आएको छ।

सम्बन्धित समाचार

राष्ट्र बैंक आफैंले खरिद गर्‍यो साढे ६ अर्बको ट्रेजरी बिल

१८ अर्ब भन्दा बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक