पोउवा संघकाे चुनाव आज, प्रजापति र पाेखरेल समूहबिच टक्कर

-



     आरजू विष्ट सल्यानी    
     भाद्र २५ गते २०७९ मा प्रकाशित



पोखरा, २५ भदाै । २०११ सालमा स्थापना भएकाे पाेखराकाे पूरानाे उद्याेगी ब्यवसायीको संस्था पोखरा उद्योग वाणिज्य संघको निर्वाचन आज हुँदैछ । मतदान बिहान ८ बजेबाट सुरु भएको छ ।

चुनावी प्रतिष्प्रधामा पवन प्रजापति र अर्जुन पाेखरेल समूह रहेका छन् । उनीहरूबिच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएकाे छ । दुबै समूहले आफ्नो जीतकाे कुरा बताइरहेका भएपनि यसकाे छिनाेफानाे मतगणनापछि नै हुनेछ ।

प्रत्यासी पवन प्रजापति समूह

पोखरा उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी पवन प्रजापति र अर्जुन पाेखरेलकाे टीम चुनावी मैदानमा उत्रिएका छन् । प्रतिष्पर्धामा कस्ले बाजि मार्ला त्याे नतिजा आएपछि प्रष्ट हुनेछ ।

भाद्र २४ र २५ गतेकाे पोखरा उद्योग वाणिज्य संघको ३४औं महाधिवेशनबाट २ वर्षको कार्यकालको लागि नेतृत्व चयन हुनेछ । प्रजापतिले कार्यसमितिमा २ कार्यकाल, कोषाध्यक्ष, उपाध्यक्ष र परिष्ठ उपाध्यक्षको रुपमा एक एक कार्यकाल काम गरेर अनुभव बटुलेका छन्।

उनकाे समूहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्याेतर्फ उपाध्यक्षमा हिरामणी पण्डित र वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य रहेका छन्। यस्तै महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला र उपमहासचिवमा सोभा गौतम रहेका छन्। सदस्यहरुमा प्रभा सुवेदी, बालकृष्ण काेइराला, विनाेद केसी, भीम गाैतम, मनाेज कुमार श्रेष्ठ, यमनाथ तिमिल्सना, रामचन्द्र शर्मा, ललित बहादुर कुँवर, सुदिप ओझा र सुदिप प्रधानाङ्ग रहेका छन् ।

पवन प्रजापती टीमका एजेण्डाहरुमा के छन् ?

व्यावसायीक वातावरण निर्माण

व्यावसायीक वातावरण निर्माण र उद्योगी व्यवसायीको सम्मान अभिबृद्धि गर्नु पहिलो प्राथमिकतामा रहेकाे छ । व्यावसायीक डाटा बैंक तथा प्रवर्धन केन्द्र स्थापना गर्ने रहेका छन् ।

नवप्रवर्तन, वजारीकरण र प्रवर्धन

रुग्न उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवस्यक तथ्यांक उपलव्ध गराईने र नवप्रवर्तन तथा महिला उद्यमशिलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, वजारीकरण र प्रवर्धनमा सघाउने रहेका छन्।

बहुउदेश्यीय भवन निर्माण

सचिवालयको पुनःनिर्माण, अत्याधुनिक बहुउदेश्यीय भवन निर्माणको लक्ष्य लिईएको बताए । पर्यटनमा टेवा पुर्याउने, राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अब रमाईलाेको रुपमा भन्दा पृथक किसिमले गर्नका लागि सरसल्लाह र सुझावको आधारमा अघि बढ्ने रहेका छन्।

साझा संस्था बनाईने

संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षाका विशेष ध्यान दिईने लक्ष्य लिइएकाे छ।

प्रत्यासी अर्जुन पाेखरेल समूह

संघलाई बलियाे, एकाकार र सक्षम नेतृत्व दिने लक्ष्य रहेकाे छ । सदस्य हुँदै क्रमशः उपमहासचिव, महासचिव र उपाध्यक्ष भएर ४ कार्यकाल रहिसकेका हुन्। पाेखरेलकाे अग्रजकाे याेगदानकाे जगमा उभिएर प्रतिफलमुखि काम गर्ने धाेकाे छ ।

पाेखरेल समूहमा वरिष्ठ उपाध्यमा हरिहर सापकाेटा, वाणिज्यतर्फ मुना बास्ताेला र उद्याेगतर्फ उपाध्यक्षमा देवेन्द्र केसी रहेका छन् । महासचिवमा केशब बहादुर खत्री, काेषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी रहेका छन् । सदस्यका उम्मेदवारहरूमा भरत केसी, धर्मेन्द्र बाटाजु, माधव बस्ताकाेटी, उदय बहादुर केसी लाहुरे दाइ, दिलिप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्ण काेइराला, हिमनिधि लाैडारि र महेन्द्र पाैडेल रहेका छन्।

अर्जुन पाेखरेल समूहका एजेण्डाहरुमा के छन् ?

संघलाई “साझा घर” बनाउने

पोखरालाई आधुनिक व्यवस्थित शहर बनाउन र पोखरेलीको “साझा घर”को रुपमा विकास गर्न संघलाई समुदायसंग जोडेर अभियान चलाईने भएकाे छ । संघको भवनलाई पुनःनिर्माण गर्ने, बहुउदेश्यीय बनाउने, व्यापारिक प्रयोजनका लागि उपयोग गर्ने, दुईवटा पार्किङ, ३ वटा व्यापारिक कम्प्लेक्स र संघको कार्यालय उनको कार्ययोजनामा छ ।

नयाँ लगानीलाइ प्रोत्साहन

संघीय संरचनापछि संघको भूमिका घट्दै गएको गुनासो आईरहेकोले नागरिकसंग झन् नजिक हुनका लागि सरकार र नागरिक बीचको दूरीलाई घटाउन पूलको रुपमा काम गर्ने लक्ष्य रहेको छ । उद्योगी व्यवसायीको हकहितको लागि पहिलो काम गर्नुपर्ने दायित्व रहेको छ ।

उचित वातावरणको खोजि

व्यवसाय गर्नका लागि उचित वातावरणको खोजि, अधिकार रक्षा, राज्यले दिनुपर्ने सुविधा, लगानीको सुरक्षा, नयाँ लगानीका लागि प्रोत्साहनका लागि काम गर्ने। संघ अन्तर्गत स्थानिय व्यापार इक्युवेसन सेन्टरको स्थापना गर्ने, साना तथा मझौला उद्योग व्यवसायका लागि प्रत्यक्ष सहयोग गर्ने, विजनेस मेन्टरिङ सेवा प्रदान गर्ने, पर्यटकलाई आकर्षित गर्नका लागि क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थललाई अन्तराष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिवद्धता रहेकाे छ।

पोखरामा लगानी सम्मेलन र अन्तराष्ट्रिय सम्बन्ध

अध्यक्षका प्रत्यासी पोखरेलले दुई वर्षे कार्यकालमा प्रदेश तथा स्थानिय सरकारहरुसंग समन्वय गरेर “पोखरा लगानी सम्मेलन” गर्ने। अन्य देशका चेम्बर अफ कमर्ससंग त्रिपक्षीय सम्बन्धको विकास गर्ने, प्राविधिक ज्ञान आदान प्रदान गर्ने, नयाँ व्यापारका अवसरहरुको खोजि गर्ने र साझेदारीका कार्य गर्ने रहेका छन् ।

पोखरा महानगरपालिका, युवा उद्यमी मञ्च, लेखनाथ उद्योग वाणिव्य संघ, सिएनआइ, एफएनसिसिआई, एफएनसिएसआई र अन्य संस्थाहरुसंगको सहकार्यलाई प्रभावकारी बनाउने प्रतिवद्धता रहेकाे छ।