लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार छ : मन्त्री कार्की

-



     सफल आवाज    
     भाद्र २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्न नेपाल सरकार तत्पर रहेको बताएका छन् ।

नेपाल उद्योग परिसङ्घद्वारा आयोजित पूर्वाधार सम्मेलनको समापन समारोहमा उनले हाल अपनाइ आएको आर्थिक नीतिले सरकारलाई आधारभूत पूर्वाधार तयार गर्न र निजी क्षेत्रलाई त्यसको जगमा रहेर पूर्वाधार विस्तार, उत्पादन र सेवा प्रवाहमा जोड दिन मार्गदर्शन गरेको उल्लेख गरे।

मन्त्री कार्कीले भने, “आवधिक योजनाले आँकलन गरेअनुसार पनि नेपालको कूल लगानीको करिब ६० प्रतिशत निजी क्षेत्रबाट नै हुनेछ । तसर्थ पूर्वाधार विस्तार र उत्पादन वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिकालाई सहजीकरण र उत्प्रेरित गर्न सरकार आफ्ना उपकरणको दक्षतापूर्ण उपयोग गर्न तयार छ ।”

नेपालमा पूर्वाधार विकासका लागि बृहत् छलफल गर्ने उद्देश्यले नेपाल उद्योग परिसङ्घले आयोजना गर्दै आएको पूर्वाधार सम्मेलनको यो चौथो संस्करण हो । नेपालको समग्र विकासमा पूर्वाधारको समस्या हल गर्न यस्ता सम्मेलन र यहाँ व्यक्त हुने विचारले सरकार र निजी क्षेत्र दुवैलाई मद्दत गर्ने उनले विश्वास व्यक्त गरे। समुन्नत नेपाल निर्माण गर्ने नेपाल सरकारको लक्ष्य हासिल गर्न पूर्वशर्तका रूपमा पूर्वाधार विकास रहेको छ ।

“केही समय अगाडि गरिएको एउटा अध्ययनले नेपालमा कूल गार्हस्थ्य उत्पादनको नौ प्रतिशतभन्दा बढी पूर्वाधारमा लगानी गर्नुपर्दछ भन्ने देखाएको थियो । हाल करिब चार प्रतिशत मात्र पूर्वाधार विकासमा लगानी भइरहेको अवस्थामा यसलाई दोब्बर पार्नुपर्ने चुनौती त छँदैछ, तर यसलाई सम्बोधन नगरिकन अर्को उपाय पनि छैन । यहाँहरूलाई जानकारी नै छ, सरकार एक्लैको प्रयासले मात्र यस्तो लगानी हुन सक्दैन, यसमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको सहयोग हुनु जरुरी हुन्छ”, उनले भने।

सरकार र निजी क्षेत्रको साझा प्रयासले पूर्वाधारमा लगानी सजिलै बढाउन सकिन्छ भन्ने उनको धारणा छ । देश विकासका लागि पूर्वाधार विकास र विस्तार मात्र साध्य होइन, यी साधन मात्र भएको उल्लेख गर्दै मन्त्री कार्कीले साधनको गुणस्तर भएन भने, तिनको उपयोग सहज भएन भने र जुन उद्देश्यका साथ पूर्वाधार विकास गरिएको हो, सो को सदुपयोग हुन सकेन भने त्यसले विकास उचित प्रतिफल दिन नसक्ने उनको भनाइ थियो ।

उनले पूर्वाधारको गुणस्तर, सहज प्रयोग र पूर्ण उपयोगमा समेत ध्यान दिन सबैको ध्यानाकर्षण गराए। अहिले मुलुक निर्वाचनको संघारमा रहेको बताउँदै उनले नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछिको सात वर्षको अवधिमा राजनीतिक क्षेत्रमा निकै नै काम भएको, सङ्घ, प्रदेश र स्थानीय तहका संरचना तयार भएको, तीन तहका जनप्रतिनिधिले आफ्नो एक कार्यकाल पूरा पनि गरिसकेको उनले उल्लेख गरे।

यसबाट राजनीतिकरूपमा जग बसिसकेको उनको भनाइ थियो । आसन्न निर्वाचनपछि सम्पूर्ण ध्यान आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताउँदै मन्त्री कार्कीले यसका लागि सरकार र निजी क्षेत्रको आपसी सहयोग, समन्वय अनि प्रतिबद्धता आवश्यकपर्नेमा जोड दिए।