अब नयाँ स्टक एक्सचेञ्जको चुक्ता पुँजी ३ अर्ब हुनुपर्ने

-



     सफल आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ भदाै । अब नयाँ खुल्ने स्टक एक्सचेञ्जको चुक्ता पूँजी ३ अर्ब हुनुपर्ने भएकाे छ । साथै कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्नुपर्ने भएकाे छ । नियमावली दोस्रो संशोधनपछि यस्ताे व्यवस्था गरिएकाे हाे ।

यसका बारेमा नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९ सार्वजनिक गरेको छ । धितोपत्र ऐन २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी सरकारको स्वीकृति अनुसार नियमावलीलाई सार्वजनिक गरेको हो ।

नियमावली अनुसार अब नयाँ स्टक एक्सचेञ्जको चुक्ता पूँजी न्युनतम रुपैयाँ ३ अर्ब हुनुपर्ने जनाइएकाे छ । नेपाल स्टक एक्सचेञ्जको हकमा भने लागू नहुने भएकाे छ ।

नयाँकाे कारोबार सञ्चालनमा गरेकाे दुई वर्षमा सर्वसाधारणका लागि जारी पूँजीको ३० प्रतिशत सेयर सेयर निष्काशन गर्नुपर्ने जनाइएकाे छ । यस्तै अन्य मुलुकमा धितोपत्र बजार सञ्चालन गरिरहेको कम्पनी अथवा संगठित संस्थाले पनि लगानी गर्न सक्ने व्यवस्था गरिएकाे छ ।

अन्य मुलुकका कम्पनी अथवा संगठित संस्थाका लागि १० काे धितोपत्र बजार सञ्चालन गरिरहेको र प्रचलित कानून अनुसार नेपालमा लगानी वा व्यवसाय गर्न अनुमति पाएको कम्पनी वा संगठित संस्थाले हुनुपर्ने उल्लेख गरीएकाे छ ।

धितोपत्र कारोबारको लागि आवश्यक कारोबार प्रणाली र सोसंग सम्बन्धीत अन्य प्रविधिका सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त धितोपत्र बजारसंग कारोबार प्रणाली एवं सूचना प्रविधिका सम्बन्धमा आवश्यक सहकार्य गर्न प्राविधिक सहयोग लिन सक्ने जनाईएको छ ।

तर यस्तो सहकार्य गर्दा वा सहयोग लिंदा नेपाल सरकारको सहमतिबिना धितोपत्र बजारको कारोबार प्रणालीको सर्भर, डाटा होस्टिङ विदेशमा राख्न नपाईने व्यवस्था गरिएको छ ।

जनशक्तिको हकमा धितोपत्र बजार संचालनको लागि आवश्यक पर्ने कारोबार प्रणाली वा प्रविधि व्यवस्थाका लागि बजारले सूचना प्रविधिसहित आवश्यक दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९