नेप्सेमा छायो हरियाली, कारोबारमा नबिल बैंक अब्बल

-



     सफल आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ भदौ । लगातार ओरालोकाे यात्रामा गएकाे नेपाली सेयर बजारमा आज भने नकारात्मक घेरा तोडेर सर्वत्र हरियाली छाएकाे छ ।

साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा हरियाली छाउनुका साथै अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि सुधार भएको छ । तर कारोबार रकम भने करोड नाघ्न सकेन ।

मंगलबार नेप्सेमा छाएको हरियालीले लगानीकर्तामा उत्साह थपिएको छ । अब सेयर बजारले लय पकड्ने होकि भन्ने आकलन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.११ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ३.८३ अंकले बढेर ३७६.१७ विन्दुमा पुगेको छ ।

यसदिन कुल २३१ कम्पनीको सेयर कारोबार भएको छ । ३१ लाख ४६ हजार ९९६ कित्ता सेयरको खरिदबिक्रीबाट ९२ करोड २५ लाख ७४ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएकाे छ ।

१३ उपसमूहमध्ये सबैमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ । बैंकिङ समूहतर्फ १०.९१ अंकले बढेको छ । व्यापारतर्फ २७.५९ अंकले, होटल तथा पर्यटनतर्फ २९.९२ अंकले, विकास बैंकतर्फ ६०.०३ अंकले बढेको छ ।

हाइड्रोपावरतर्फ २०.७८ अंकले बढेको छ । फाइनान्सतर्फ ३४.११ अंकले, नीर्जिवन बीमातर्फ ५८.७७ अंकले, उत्पादनतर्फ ९०.६५ अंकले, अन्यतर्फ १५.८२ अंकले, लघुवित्ततर्फ ५३.५८ अंकले, जीवब बीमातर्फ ९६.२२ अंकले, म्युचुअल फण्डतर्फ ०.११ अंकले र लगानी उपसमूहतर्फ ०.९५ अंकले बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आज पनि नबिल बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ५ करोड ९४ लाख ८९ हजार २४५ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

बाेटलर्स नेपाल (बालाजु) काे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार एक सय ३६ रूपैयाँ पुगेकाे छ । ‘८.५% नेपाल बैंक डिबेञ्चर, २०८७’ काे मूल्य सबैभन्दा धेरै घटेर ९ सय २२ रूपैयाँ २० पैसा कायम भएकाे छ ।