सान्जेन जलविद्युतको सेयरमा मंगलबारसम्म आवेदन दिन पाइने

-



     सफल आवाज    
     असाेज ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ असाेज । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताका लागि असाेज ४ गतेसम्म सेयरकाे माग फाराम भर्ने अन्तिम माैका रहेकाे छ । लगानीकर्ताले सान्जेन जलविद्युत कम्पनीले बिक्रीमा ल्याएकाे सेयरमा मंगलबारसम्म आवेदन दिन सकिने भएकाे हाे ।

हालसम्म सेयरमा २३ करोड ८ लाख १४ हजार रुपैयाँ बराबरको आवेदन पेश भएकाे छ । आइतबार बेलुकासम्ममा १२ हजार ८२ जना आवेदकले २३ लाख ८ हजार १४० कित्ताका लागि आवेदन पेश गरेका छन् ।

कम्पनीका अनुसार १३ लाख ४१ हजार ८६० कित्ता सेयर बिक्री हुन बाँकी नै रहेकोले लगानीकर्ताका लागि असाेज ४ गते अन्तिम दिन लगानीकाे लागि माैका रहेकाे छ ।

सान्जेनले भदौ ५ गतेदेखि आयोजना क्षेत्रका प्रभावित जनताका लागि रुपैयाँ १०० अंकित दरकाे ३६ लाख ५० हजार कित्ता सेयर जारी गरेकाे थियाे । सेयरमा विशेष गरेर आमाछोदीङमो गाउँपालिका वडा नं. ५ काे चिलिमे र प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङका स्थानियले आवेदन दिन पाउनेछन् ।

उता आमाछोदिङमो गाउँपालिकाका वडा नं १, २, ३ र कम प्रभावित रसुवा जिल्लावासिले पनि आवेदन दिन पाउनेछन् । लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा ७०० कित्तासम्म आवेदन पेश गर्न पाउनेछन् ।

सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेकाे छ । सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् ।