मयूर सहकारीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

-



     सफल आवाज    
     असाेज ३ गते २०७९ मा प्रकाशित



पोखरा, ३ असोज । मयूर बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । सभा आठौं संविधान दिवसको अवसर पारेर सोमवार पोखरा महानगर वडा नं ५ स्थित मनकामना मन्दिर परिसरको सभा हलमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका सहकारी विभागका निवर्तमान अध्यक्ष तेजनारायण अधिकारीले एउटै व्यक्ति धेरै सहकारीमा आवद्ध हुन नहुने बताउँदै शेयर सदस्यहरुले संस्थामा नियमित रकम बचत गर्नुपर्ने बताए।

पोखरा महानगर सहकारी विभागका दर्ता अधिकारी भरत राज पौडेलले सहकारीमा केही रकम भएपनि बचत गर्न सकियो भने भविष्यको लागि राम्रो हुने बताउँदै संस्थाले गर्ने कार्यहरु पूरा गर्न सुझाए।

मयूर सहकारीका अध्यक्ष मिनराज खड्काले सहकारी लगानी गर्न चाहनेहरुको लागि भएको बताउँदै सहकारीले आत्मनिर्भर बन्न सिकाइ उद्यमशीलता विकास गर्ने बताए।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखरा शाखा प्रबन्धक नरेश पाण्डेले सहकारीहरुले आपसी सहकार्य गर्न सके हलको आर्थिक समस्या सहज रुपमा समाधान गर्न सहज हुने बताए।

कार्यक्रममा ग्रीन डेभलपमेन्ट बैँक बाग्लुङ शाखाका डेपुटी म्यानेजर हरि अधिकारी, जनरल इन्सुरेन्सका बजार विभाग प्रमुख सञ्जीव पौडेल, पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अग्नीधर त्रिपाठी, नमूना आदर्श आमा समूह मालेपाटनका अध्यक्ष जानुका थापा लगायतले बाेलेका थिए ।

प्रथम साधारणसभाले सञ्चालक समितिको अध्यक्षको प्रतिवेदन, सचिवको २०७८÷०७९ को वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, कोषाध्यक्षले प्रस्तुत गरेको भावी कार्यक्रम तथा अनुमानित वार्षिक बजेट र स्वतन्त्र लेखापरिक्षकको प्रतिवेदन सर्वसम्मत्ले पारित गरेको छ ।

मयूर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मिनराज खड्कको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सरस्वती पौडेलले तथा सञ्चालन सचिव प्रेमप्रसाद आचार्य र शिक्षा समिति सदस्य रमेश सुवेदीले गरेका थिए ।