नेप्सेमा ३८.८१ अंकको गिरावट, कारोबार रकम १ अर्ब माथि

-



     सफल आवाज    
     असाेज ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ असोज । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार राताम्मै भएको छ ।

नेपाल बैंकर्स संघले यसअघिको भद्र सहमतिलाई तोड्दै बैंकहरुले स्वतन्त्र तवरले ब्याजदर बढाउन सक्ने निर्णय गरेसंगै ओरालो लागेको सेयर बजारमा सकारात्मक लय कहिले आउने हो यो पत्ताे छैन । सेयर बजारमा भइरहेको नकारात्मक प्रभावले लगानीकर्ताको मनोबल बढ्न सकेको छैन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ । नेप्सेमा २.०७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ७.०० अंकले घटेर ३५८.८७ विन्दुमा झरेको छ ।

यसदिन कुल २३१ कम्पनीको कारोबार भएको छ । ३८ लाख ५६ हजार ५३८ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

ठूला कम्पनीहरुको मापन गर्ने परिसूचक सबै १३ वटै ऋणात्मक भएका छन् । अर्थात उनीहरु सबैको सेयरमूल्य घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५ करोड ६५ लाख ३३ हजार ८२९ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

यसदिन स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले बढेर एक हजार ५ सय ३८ रूपैयाँ पुगेकाे छ । कालिका पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले घटेर ३ सय रूपैयाँ ६० पैसा कायम भएकाे छ ।