स्वाबलम्बन जीवनपद्धती केन्द्रद्वारा अपाङ्गता भएका बालबालिकालाई ७ लाखको सामग्री प्रदान

-



     सफल आवाज    
     असाेज ५ गते २०७९ मा प्रकाशित



पोखरा, ५ असोज । स्वाबलम्बन जीवनपद्धती केन्द्र–पोखरा (अपाङ्गता भएका व्यक्तिहरूको संस्था)ले ह्याण्डिक्याप इन्टरनेशनल र विश्व शिक्षासँगको साझेदारी तथा युएसएआइडीको आर्थिक सहयोगमा कास्की जिल्लामा सञ्चालन गरिरहेको “सबैका लागि पढाइ कार्यक्रम” परियोजना अन्तर्गत पोखराका तीन विद्यालयमा रहेका अपाङ्गता भएका बालबालिकाहरूकाे अध्ययनरत श्रोत कक्षाको स्तरउन्नतिका लागि विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

अपाङ्गता भएका बालबालिकाहरुको सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले करीब सात लाख मूल्य बराबरको सामाग्री प्रदान गरिएको संस्थाका अध्यक्ष हेम बहादुर गुरुङले जानकारी दिए। पोखरा १२ स्थित अमरसिंह मावि, पोखरा १० स्थित कुँडहर आधारभूत विद्यालयका दृष्टिविहीन विद्यार्थी र पोखरा ३३ स्थित सरस्वती टिका मा.वि.का बौद्विक अपाङ्गता विद्यार्थीको स्रोत कक्षाको सिकाइ वातावरण सुधार गर्न सामाग्री हस्तान्तरण गरिएको हो ।

ती विद्यालयलाई स्मार्ट टिभि, राउण्ड टेबल, पि. फोम म्याट्रेस, जुट कार्पेट, वाटर प्युरिफायर, सिलिङ्ग पंखा, स्टिल दराज, कुसन, शिक्षण सिकाइ तथा खेल सामाग्री लगायत २० प्रकारका सामग्रीहरू प्रदान गरिएको छ । यसकासाथै ती विद्यालयका श्रोत कक्षाका भित्ताहरू रङ्गीन चित्रकलाले सजाइएको छ भने कुँडहर आधारभूत विद्यालयलाई ८ थान स्मार्ट ट्याब्लेट समेत हस्तान्तरण गरेको छ ।

पोखरा महानगरपालिकाकी उप–प्रमुख मञ्जुदेवी गुरुङले ती सामाग्री विद्यालयलाई हस्तान्तरण गरेकि हुन्। कार्यक्रममा उप–प्रमुख गुरुङले अपाङ्गता भएका व्यक्तिको सहजताका लागि काम गर्नु सरकारको कर्तव्य भएको बताइन ।

उनले आफू दोश्रो पटक निर्वाचित भएर आइसके पछि पहिलो निर्णय अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच स्थापित गर्न प्रोत्साहन सहितको विद्यार्थी भर्नालाई प्राथमिकताकासाथ घोषणा गरेको र निकट भविष्यमा नै आवश्यक कार्यविधि बनाइ अगाडि बढ्ने दृढता व्यक्त गरिन्।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले हुनेले आफ्नो लागि आफैले गर्न सकेपनि नहुनेका लागि राज्य आवश्यक भएको बताए।

कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै अध्यक्ष हेम बहादुर गुरूङले अपाङ्गता भएका बालबालिकाहरूको सिकाइ गुणस्तर अभिवृद्धिका लागि विद्यालय र कक्षा कोठाहरूमा रमाइलो र सहज सिकाइ वातावरण आवश्यक हुने भएको हुँदा ती सामाग्रीहरू प्रयोगबाट अपेक्षित उपलब्धि हाँसिल हुने विश्वास व्यक्त गरे । परियोजनाको समाप्ति पश्चात पनि निरन्तर सहयोगका लागि स्थानीय सरकारले अपनत्व ग्रहण गर्दै यस्ता प्रयासहरू जारी राख्नुपर्ने भनाइ राखे ।

महानगरले समावेशी शिक्षा नीति बनाइ अपाङ्गता लगायत कठिनाइमा रहेका सबै बालबालिकाहरूलाई शिक्षाको मूलधारमा ल्याउनु पर्ने कुरामा जोड दिएको छ। उक्त कार्यक्रममा ह्याण्डिक्याप इन्टरनेशनलका प्रतिनिधि शिवानी भट्टराई, महानगर शिक्षा प्रशासन महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, सामाजिक विकास महाशाखाका प्रतिनिधि गीता नेउपाने लगायतको उपस्थिति रहेको थियो ।