घोराही सिमेन्टकाे सेयर संरचनामा परिवर्तन हुने, मंसिर २७ गते साधारण सभा

-



     सफल आवाज    
     मंसिर ६ गते २०८३ मा प्रकाशित



काठमाडौं, ६ मंसिर। घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आफ्नो सेयर संरचना परिवर्तन गर्ने प्रस्तावसहित छैटौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर २७ गते आइतबारका लागि सभा बोलाउने निर्णय गरेको हो ।

सभा दाङको घोराही उपमहानगरपालिका–१४, भरतपुरस्थित होटल पौवामा बिहान ९ बजेबाट सुरु हुनेछ ।

सभाको विशेष प्रस्तावअन्तर्गत कम्पनीको हालको सेयर संरचनालाई परिवर्तन गरी साधारण सेयरमा मात्र सीमित गर्ने एजेन्डा पेस गरिनेछ । उक्त परिवर्तनअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गरी सञ्चालक समितिको गठनसम्बन्धी व्यवस्थासमेत परिमार्जन गर्ने प्रस्ताव छ ।

यसका अतिरिक्त, कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौँ महानगरपालिका–११, ट्रेड टावरबाट काठमाडौँ महानगरपालिका–२८, पुतलीसडकस्थित त्रिवेणी कम्प्लेक्समा स्थानान्तरण गर्ने प्रस्ताव पनि सभामा लगिनेछ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्ने, प्रबन्धपत्रमा रहेका उद्देश्यहरू संशोधन तथा थप गर्ने र दफा ५ मा समेत परिवर्तन गर्ने विशेष प्रस्ताव अघि सारेको छ ।

सामान्य प्रस्तावतर्फ गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ । यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा सञ्चालकसँग सम्बन्धित संस्थासँग भएका कारोबार अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई नामसारी पूरा गरेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

वार्षिक साधारण सभाको संक्षिप्त विवरण:

विवरणजानकारी
सभा मिति र समयमंसिर २७ गते आइतबार, बिहान ९ बजे
स्थानहोटल पौवा, घोराही–१४, भरतपुर, दाङ
बुक क्लोज मितिमंसिर १८ गते (मंसिर १७ गतेसम्म कायम सेयरधनी योग्य)
मुख्य विशेष प्रस्तावसेयर संरचना परिवर्तन (साधारण सेयरमा सीमित), कार्यालय पुतलीसडक सार्ने, ऋण अनुमोदन